जेनेभा- स्विट्जरल्यान्डका महिलाहरूले लैङ्गिक समानताका लागि सडकमा प्रदर्शन गरेका छन्।
राजधानी बर्न लगायतका शहरमा शुक्रबार गरिएका प्रदर्शन समानताका लागि गरिएको बताइएको छ। सन् १९९१ मा पनि महिलाहरूले समानताका लागि भनेर सडक आन्दोलन गरेका थिए। स्विस महिलाहरूले लैङ्गिक समानताको गति तीव्र पारियोस् भन्ने अभियान लामो समयदेखि चलाउँदै आएका छन्।
आन्दोलनका आयोजक समूहले भनेका छन्, 'स्विट्जरल्यान्डमा शुक्रबार भएको प्रदर्शनमा ‘सयौँ हजारको सङ्ख्या’मा महिलाहरू परिचालित भएका थिए।'
स्विट्जरल्यान्डका विभिन्न १६ महिला अधिकारवादी समूहको छाता संगठन युएसएसले एक विज्ञप्ति जारी गर्दै भनेको छ, 'इतिहासमा सन् २०१९ को जुन १४ राजनीतिक अधिकारका हिसाबले विशेष दिनको सुरूवात हुनेछ। किनकी दिनभर लाखौँ महिलाहरूले हडतालमा सहभागिता जनाएका छन्।'
सन् १९१८ मा प्रथम विश्वयुद्ध अन्त्य भएपछि युरोपका लाखौँ महिलाहरू सँगसँगै मतदानमा अधिकारका लागि स्विस महिलाहरू सडकमा निस्केका थिए। तर, उनीहरूले सन् १९७१ मा मात्र त्यो अधिकार प्राप्त गरेका थिए। सन् १९९१ को हडतालका बेला स्विस सरकारमा कोही पनि महिला थिएनन् र त्यहाँ सुत्केरी बिदाको कानुनी व्यवस्था पनि थिएन।
सन् १९९१ मा स्विट्जरल्यान्डको सर्वोच्च अदालतले ’अप्पेनजेल क्यान्टन’लाई महिलाहरूलाई मतदानको अधिकारको रोक फुकाउन आदेश दिएको थियो। अहिले यहाँको सरकारमा ८ जना महिला मन्त्री बनेका छन्।
तर, अहिले पनि स्विट्जरल्यान्डमा पुरुषको तुलनामा महिलाहरूले २० प्रतिशत कम तलब पाउने गरेका प्रदर्शन आयोजक संस्थाहरूले जनाएका छन्। व्यवस्थापकीय ओहोदामा महिलाको प्रतिनिधित्व कम भएकाले अझै पनि महिलाका मुद्दा छायामा परेका उनीहरूको दाबी छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।