मस्को- रुसको उत्तरधुर्वी क्षेत्रमा झन्डै ३२ हजार वर्षअगाडि मरेको ब्वाँसोको टाउको भेटिएको रूसी वैज्ञानिकहरुले बताएका छन्।
धेरै रौंहरुले ढाकिएको अवस्थामा तिरेख्ट्याख नदीको किनारमा ब्वाँसोको टाउकोको अवषेश भेटिएको उनीहरुको भनाइ छ। वैज्ञानिकहरुले थोरै गिदी, नरम मासुको अंश र बलियो दाँत भेटिएको र त्यसको लम्बाई ४१.५ सेन्टिमिटर रहेको पनि जानकारी दिएका छन्। हिजोआज पनि उक्त क्षेत्रमा ब्वाँसोको बासस्थान रहेको र तिनीहरूको टाउकोको नाप ६६ सेन्टिमिटर लम्बाइ र ८६ सेन्टिमिटरसम्म चौडाइ हुने गरेको उनीहरुले बताएका छन्।
स्थानीय वैज्ञानिकहरुले त्यो टाउकोलाई अध्ययनका लागि टोकियोमा रहेको औषधि सम्बन्धी अध्ययन गर्ने जिकेई विश्वविद्यालयमा पठाएका बताइएको छ।
'यस्तो हामीले पहिलो पटक देखेका छौँ,' याकुितया विज्ञान प्रतिष्ठानका अल्बर्ट प्रोटोपोपोभले भनेका छन्। उक्त ब्वाँसो दुईदेखि चार वर्ष उमेरमा मरेको हुन सक्ने विश्वास गरिएको उनले बताए।
त्यस टाउकोका बारेमा रुस, जापान, स्विडेन लगायतका देशमा लगातार अध्ययन भइरहेको पनि प्रोटोपोपोभले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।