काठमाडौं- नेपाल बैंकर्स संघले दुर्गम क्षेत्रमा खोलिएका बैंकहरुको नगद व्यवस्थापन गरिदिन सरकारसँग माग गरेको छ।
संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले सरकारको नीतिअनुसार दुर्गम क्षेत्रमा पनि बैंकहरु खोलिए पनि नगद व्यवस्थापन गर्न कठिनाई भएको उल्लेख गर्दै उचित व्यवस्थापन गरिदिन सरकार र नेपाल राष्ट्र बैंकसँग आग्रह गरे।
शुक्रबार नेपाल व्यवस्थापन संघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नोक्सानी व्यहोरिरहेका उद्योगलाई बढि नोक्सानी हुन नदिन पनि कम्तीमा ५ वर्षसम्म बैंकको ऋण प्रवाह गर्दा ब्याजदर बढाउने व्यवस्था नगरिदिन पनि नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराए।
नेपाल राष्ट्र बैंकले नोक्सानमा गएका उद्योगहरुलाई २ वर्षपछि ‘वाचिङ लिष्ट’मा राख्दा उनीहरुले लिएको लोनमा ब्याजदर थप हुने भएकाले त्यसले झनै समस्यामा पार्ने अध्यक्ष ढुंगानाको भनाइ छ।
संघले जलविद्युत आयोजनाका कारण कृषि क्षेत्रमा लगानी बढाउन निजी बैंकहरुलाई समस्या परिरहेको पनि जनाएको छ।
कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्रीले बैंकहरुले उपयुक्त ठाउँमा लगानी गरे/नगरेको अनुगमनमा विशेष जोड दिन नेपाल राष्ट्र बैंकलाई आग्रह गरे। उनले बजारलाई हेरेर ब्याजदर निर्धारण गर्ने परिपाटीको पनि विकास गर्नुपर्नेमा जोड दिए।
क्षेत्रीले पुँजीगत खर्च बढाउन ध्यान केन्द्रित गर्न पनि सरकारलाई सुझाव दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।