सिमकोट- मुगुको रारा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ। तर, रारा पुग्ने पर्यटकलाई थप घुम्ने र मनोरञ्जन दिन नसकिएको अवस्थामा असार पहिलो सातादेखि रारादेखि छायानाथधाम पुग्न राराछायानाथ हेलिकोप्टर प्याकेज सुरु हुने भएको छ।
हिन्दूका चारधाममध्येको छायानाथधाम हेलिकोप्टरमार्फत पुग्नका लागि भिजिट कर्णाली टुर एन्ड ट्राभल्सले हेलिकोप्टर प्याकेज ल्याउन लागेको ट्राभल्सका सञ्चालक राजु कार्कीले जानकारी दिए। उनका अनुसार 'नेपाल भ्रमण वर्ष, २०२०'लाई लक्षित गरी यो सेवा सुरु गर्न लागिएको हो।
महादेवले सतीदेवीको शव बोकेर घुम्दै जाने क्रममा अन्तिम अङ्ग पतन भएको र विश्वका ४ वटा मुख्य धाममध्ये जेठो मानिएकाले पनि यसको विशेष महत्व रहेको छ। हेलिकोप्टर यात्रामा ३० मिनेटमै छायानाथको दर्शन गरी हिमशृङ्खलाको अवलोकन गर्न पाइनेछ।
यो प्याकेजका लागि प्रतिव्यक्ति शुल्क ३५ हजार रुपैयाँ लाग्ने कार्कीले बताए। भारतीय पर्यटकलाई कैलाश मानसरोवर जान विशेष प्राथमिकता दिई सरकारको ध्यान केन्द्रित गराइने कार्कीले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।