काठमाडौं– नेपाली फिल्म 'वीर विक्रम २’ को समीक्षाको क्रममा मिम नेपालले निर्माण गरेको भिडियोलाई लिएर उत्पन्न विवादमा चलचित्र समीक्षक समाज नेपाल (फिक्सन) ले आफ्नो धारणा सार्वजनिक गरेको छ।
सार्वजनिक कला वा उत्पादनको आलोचना, समीक्षा वा टिप्पणीलाई अपराधका रुपमा चित्रण गरिनु उचित नभएको समाजको ठम्याइ छ। अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्दा कसैको जाति, धर्म, वर्ण, लिंग, पहिरन तथा शारीरिक बनोटमाथि नकारात्मक टिप्पणी मान्य नहुने फिक्सनले उल्लेख गरेको छ। मिम नेपालको भिडियोमा निकिता चाण्डक, अशोक दर्जी, सरिता राजभण्डारी जस्ता कलाकारबारे यस किसिमका टिप्पणी गरेको पाइएकाले त्यसको समर्थन गर्न नसकिने भन्दै संवेदनशील हुन सुझाइएको छ।
चलचित्रकर्मीहरु आफैं सर्जक भएकाले आलोचना र अभिव्यक्ति स्वतन्त्रताको पक्षधर हुनुपर्ने धारणा समाजको छ। फिक्सनका अध्यक्ष यज्ञश र महासचिव सामिप्यराज तिमिल्सिनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'अभिव्यक्ति स्वतन्त्रता पत्रकार, समीक्षक वा हास्यकलाकारको मात्र स्वतन्त्रता नभएर चलचित्रकर्मी र सबै विचार बोक्ने व्यक्तिहरुको स्वतन्त्रता हो। यसको प्राप्तिका लागि देशमा ठूल्ठूला आन्दोलन भएका छन्। नेपालको संविधानले प्रदान गर्ने यो हकको सम्मान र रक्षा गर्नुपर्छ।'
मिम नेपालको भिडियोमा कलाकार प्रनेश गौतमले फिल्मको समीक्षा गरेका थिए। उक्त समीक्षाविरुद्ध निर्देशक मिलन चाम्सले जेठ १० गते महानगरी अपराध महाशाखामा जाहेरी दिएका थिए। निर्देशकको मान प्रतिष्ठामा खलल पुर्याउने, चलचित्रको व्यापार व्यवसायमा घाटा पुर्याउने, झुठ्ठा प्रचारप्रसार गरी गाली गलौज गर्ने, कलाकारको मान प्रतिष्ठामा आँच पुर्याउने, जबरजस्ती राम्रो छ भन्न लगाउने र चलचित्रको बदनाम समेत गरेको उजुरीमा उल्लेख छ।
पक्राउपछि गौतमलाई विद्युतिय कारोबार ऐन अन्तर्गत अनुसन्धान कारबाहीको लागि महानागरीय प्रहरी परिसर काठमाडौं पठाइएको थियो।
माजले प्रस्तुत गरेका धारणा
१) अभिव्यक्ति स्वतन्त्रता र आलोचनात्मक चेतले नै कुनै समाजलाई जीवन्त र स्वतन्त्र बनाउँछ। कुनै पनि बहानामा यसमाथि हुने प्रहार वा दमित बनाउने प्रयास स्वीकार्य छैनन्।
२) सार्वजनिक कला वा उत्पादनको आलोचना, समीक्षा वा टिप्पणीलाई अपराधका रुपमा चित्रण गरिनु उचित होइन। त्यसको शैलीमा मत भिन्नता हुन सक्छ।
३) अभिव्यक्तिको स्वतन्त्रताको उपभोग गर्दा कसैको जाति, धर्म, वर्ण, लिंग, पहिरन तथाशारीरिक बनोटमाथि नकारात्मक टिप्पणी पनि हामीलाई मान्य छैन। मिम नेपालको भिडियोमा निकिता चाण्डक, अशोक दर्जी, सरिता राजभण्डारी आदिकलाकार बारे यस किसिमका टिप्पणी गरेको पाइयो। हामी यसको समर्थन गर्दैनौं। र, यी विषयमा संवेदनशील हुन आवश्यक रहेकोमा पनि जोड दिन्छौं।
४) विद्युतीय कारोबार ऐनको अपब्याख्या गरिएको र दुरुपयोग भएको यस कानुनका ज्ञाताहरुले बताइरहेको सन्दर्भमा अभिव्यक्ति स्वतन्त्रता कुन्ठित हुनेगरी यसको प्रयोग नगर्न हामी राज्यकानिकायहरु लाई आग्रह गर्दछौं।
५) विद्युतीय कारोबार ऐन लगाएर थुनिएका प्रनेस गौतमलाई तुरुन्त रिहा गर्न हामी माग गर्दछौं।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।