काठमाडौं- नवगठित समाजवादी पार्टी, नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ।
पार्टीका अध्यक्ष उपेन्द्र यादव तथा पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बिहीबार अपराह्न निर्वाचन आयोगमा पुगी दल दर्ताका लागि निवेदन दिएका थिए। संविधान र कानुनी प्रावधान अनुसार निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिइएको पार्टीका संघीय परिषदका अध्यक्ष भट्टराईले जानकारी दिए।
भट्टराईले संविधान संशोधन नभए आफूहरु सरकारबाट बाहिरिने बताए।
अध्यक्ष यादवले संविधानमा त्रुटिहरु रहेको दाबी गर्दै भने, 'उनले आफूहरु संविधान संशोधन गर्ने सहमतिसहित सरकारमा गएका हौं। संविधान संशोधन भएन भने सरकार छाड्छौं।'
संघीयताको पूर्ण कार्यान्वयन गरेर मुलुकलाई सुशासन र समृद्धिको बाटोबाट अघि बढाउँदै समाजवादमा पुर्याउने लक्ष्यसहित तत्कालीन यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपाल र भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालबीच एकीकरण भई गत बैसाख २३ गते समाजवादी पार्टी, नेपाल घोषणा गरिएको थियो।
निर्वाचन चिह्नलाई केही दिनमै टुंगो लगाएर निर्वाचन आयोगमा बुझाउने पनि उक्त पार्टीले जनाएको छ।
तत्कालीन फोरमको चुनाव चिह्न 'मसाल' नयाँ शक्तिको चुनाव चिह्न 'आँखा' थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।