दमौली, तनहुँ- तनहुँको आँबुखैरेनी गाउँपालिकाले रु ३० लाखको लागतमा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएको छ।
ल्याण्डफिल साइट नहुँदा लामो समयदेखि फोहर व्यवस्थित गर्न नसकेको सो गाउँपालिकाले फोहरबाट मोहोर आम्दानी गर्ने उद्देश्यसहित फोहरलाई व्यवस्थित गर्न थालेको हो। रु ३० लाखको लागतमा फोहरमैला व्यवस्थापन केन्द्रको स्थापना गरी फोहर फाल्न थालिएको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले बताए।
आँबुखैरेनी गाउँपालिका–३ को कुडुलेमा ६ रोपनी जग्गा भाडामा लिई फोहर व्यवस्थित गर्न थालिएको हो। वार्षिक रु ७२ हजार भाडा दिने गरी १० वर्षका लागि जग्गा लिइएको छ।
उक्त गाउँपालिकाको वडा नं १, २, ३ र ४ बजार क्षेत्रबाट दैनिक उठ्ने तीन ट्रक फोहर सो केन्द्रमा लगी फाल्ने गरिएको गाउँपालिकाकी कार्यकारी अधिकृत दुर्गा थापाले बताए। फोहरलाई मोहर बनाउने उद्देश्य रहेको उनको भनाइ छ।
कुहिने फोहरबाट प्रांगारिक मल बनाउने र नकुहिने फोहर सिसा, प्लास्टिकका बोतल पुनःप्रयोग गर्न सकिने वस्तुलाई बिक्री गर्ने लक्ष्य गाउँपालिकाले लिएको छ।
फोहरलाई व्यवस्थित ढंगबाट संकलन गरी केन्द्रसम्म पुर्याउनका लागि अहिले टोल सुधार समितिका पदाधिकारीलाई तालिम दिइएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।