काठमाडौं– संसद सचिवालयले सांसदहरूलाई ‘पेपरलेस’ र ‘सूचना प्रविधिमैत्री’ बनाउन भन्दै ल्यापटप दिने प्रक्रिया अघि बढाएकोमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कि सांसद रामकुमारी झाँक्रीले आपत्ति जनाएकी छिन्। उनले यस्तो कार्यलाई 'सस्तो काम'को संज्ञा दिँदै सांसदहरुको हुर्मत नलिन आग्रह गरेकी छिन्।
'केही दिन अगाडिदेखि पत्रपत्रिकाहरुमा ३ सय ३४ सांसदहरुलाई ल्यापटप बाँड्ने संसद सचिवालयले निर्णय गरेको र टेन्डर आह्वान गरेको भन्ने कुरा सुनें,' उनले बिहीबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा भनिन्, 'यो सुन्दा मलाई दुःख लागेको छ।'
उनले विगतमा पनि सांसदहरुलाई यस्ता खुद्रामसिना कुराहरु बाँड्ने र हुर्मत लिने काम भएको स्मरण गरिन्।
'सांसद विकास कोषको नाममा ६ करोड दिइयो। ०५१ सालमा पनि सांसदहरुलाई भन्सार सुविधामा गाडी ल्याउन दिइयो। यस्ता कुराहरुले सांसदहरुलाई क्रमशः जनताबाट अलग्याउने र सांसदप्रति जनताको नकारात्मक भावनाको विकास गर्ने देखिन्छ', उनले भनिन्।
सांसद झाँक्रीले उनले यस्ता कामहरुले संसदीय व्यवस्था र प्रजातन्त्रमा आँच आएको दाबी गरिन्।
'यस्ता सस्ता कुराहरु गरेर, सांसदहरुलाई प्रविधिमैत्री बनाउँछौं भन्ने नाममा सांसदहरुको हुर्मत लिने काम बन्द गरियोस्,' उनले आग्रह गरिन्, 'यो कुरा आपत्तिजनक छ। यस्तो काम गरिनुहुँदैन। यस्तो कामले सांसदहरुको मर्यादा पनि बढ्दैन। संसदीय व्यवस्थाको पनि बढ्दैन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।