कोलम्बो- धेरै मानवीय क्षति हुने गरी आतङ्कवादी हमला भएपछि बन्द रहेको श्रीलङ्काको राजधानी कोलम्बोस्थित साङ्ग्रिला होटल बुधबारदेखि पुनः सञ्चालनमा आएको छ।
सुविधासम्पन्न सो होटल पुनर्निर्माण गरेर झन्डै सात हप्तापछि पुनः सञ्चालनमा आएको अधिकारीहरूले जनाएका छन्।
गत अप्रिल २१ तारिखका दिन आतङ्कवादीहरूले गरेको आक्रमणमा परी २ सय ५० भन्दा बढीको मृत्यु भएको थियो।
होटल सञ्चालक संस्था साङ्ग्रिला समूहद्वारा जारी वक्तव्यमा भनिएको छ, 'स्थानीय समयानुसार जुन ६ तारिखको बेलुका ६ बजेदेखि होटलका सेवाहरू सुचारु भएका छन्।'
आतङ्कवादीहरूले साङ्ग्रिलासँगै कोलम्बोस्थित अरू दुई होटलमा पनि आक्रमण गरेका थिए भने ती दुई होटल पनि केही दिन अगाडिदेखि मात्रै सञ्चालनमा आएका छन्।
आतङ्कवादीहरूले ती होटलबाहेक अरू तीन चर्चमा पनि आक्रमण गरेका थिए। आक्रमणले देश पूरै आतङ्कित भएको थियो भने संसारभरबाट घटनाको चर्को विरोध भएको थियो। रासस/एएनआई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।