तस्बिरः विष्णु रिमालको ट्वीटरबाट
काठमाडौं- साताव्यापी युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली दुईदिने बेलायत भ्रमण सकेर बुधबार फ्रान्स प्रस्थान गरेका छन्।
प्रधानमन्त्री ओली युरो टनेल भनिने भूमिगत रेलमार्ग हुँदै लन्डनबाट केही बेरअघि फ्रान्सको पेरिस प्रस्थान गरेको प्रधानमन्त्रीका मुख्य सल्लाहाकार विष्णु रिमालले ट्वीटरमा उल्लेख गरेका छन्।
स्विटजरल्यान्डको जेनेभामा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) शतवार्षिकी समारोहलाई सम्बोधन गरेर बेलायत भ्रमणमा पुगेका प्रधानमन्त्री ओली त्यहाँको दुईदिने भ्रमण सकेर आज फ्रान्स प्रस्थान गरेका हुन्।
फ्रान्स र बेलायत जोड्ने गरि बनाइएको सुरुङमार्गलाई बनाइएको ‘इंग्लिस च्यानल’नामबाट चिनिन्छ र यसको लम्बाई ५०.४५ किलोमिटर रहेको छ ।
बेलायतको फोल्कटोन सहरदेखि उत्तरी फ्रान्सको क्यालाइ्स सहर जोड्ने यो भूमिगत रेलमार्गबाट करिब वार्षिक १ करोडले यात्रा गर्ने गर्छन्।
बेलायतदेखि फ्रान्ससम्म सुरुङ छिचोल्न करिब १ सय वर्ष लागेको उक्त मार्गबाटै यात्रा गर्न लागेको नेपाली टोलिले निकै चासोपूर्बक हेर्ने ठानिएको छ।
विमानबाट जाँदा विमानस्थलमा लामो समय लाग्ने भएकाले छिटो यात्राका लागि रेलबाट आउन लागेको फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीले बताए।
फ्रान्स भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले बिहीबार फ्रान्सका प्रधानमन्त्री फिलिप एडुवार्डसँग औपचारिक वार्ता गर्ने तय भएको छ। दुई समकक्षीबीच बिहीबार बेलुका ५ बजे हुने त्यो भेटघाट करिब एक घन्टासम्म चल्ने बताइएको छ ।
नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध भएको ७०औं वर्ष भएकाले दुई देशको कूटनीतिक सम्बन्धलाई अझै विस्तार गर्ने र आर्थिक तथा सांस्कृतिक सहकार्यका विषयमा उक्त भेटघाटमा छलफल हुने छ।
नेपालको परराष्ट्र मन्त्रालका अनुसार आफ्ना समकक्षीसँगको वार्तापछि प्रधानमन्त्री ओलीले बिहीबार साँझ नै राष्ट्रियसभामा मैत्री समूहका अध्यक्ष भेरोनिक रिओतोंलाई भेट्नेछन्। राष्ट्रियसभाले आयोजना गर्ने रात्रिभोजमा पनि उनी सहभागी हुने कार्यक्रम छ।
प्रधानमन्त्री ओलीको भ्रमणलाई फ्रान्सको राष्ट्रियसभा अन्तर्गत नेपाल—फ्रान्स मैत्री समूहले सहजीकरण गर्नेछ। प्रधानमन्त्री ओलीले फ्रान्सेली संसदीय टोलीलाई नेपाल भ्रमणको निम्तोसमेत दिनेछन्।
पेरिस रहँदा ओलीले त्यहाँ व्यापारिक समुदायका प्रतिनिधिसँग अन्तरक्रिया गर्नेछन्। त्यस्तै प्रधानमन्त्री ओलीले युरोपमा रहेका नेपाली राजदूतहरुलाई समेत सम्बोधन गर्ने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।