हङकङमा प्रदर्शन चर्किंदै, प्रदर्शनकारीमाथि प्रहरीले बर्सायो रबरका गोली

नेपाल लाइभ | २०७६ जेठ २९ बुधबार | Wednesday, June 12, 2019 १७:५३:०० मा प्रकाशित

एजेन्सी- सुपुर्दगीसम्बन्धी एउटा प्रस्तावित विधेयकको विरोधमा भएको प्रदर्शन हिंसात्मक भएपछि हङकङमा प्रहरीले प्रदर्शनकारीमाथि रबरका गोली प्रहार गरेको छ। प्रदर्शनकारीले मुख्य सरकारी भवन रहेका सडक अवरुद्ध गर्दै प्रहरीमाथि इँटा प्रहार गरेका थिए। 

प्रदर्शकारीमाथि प्रहरीले रबरका गोली प्रहार गरेको दशकपछिको यो पहिलो घटना हो। प्रदर्शनमा २२ जना घाइते भए पनि गम्भीर चोट भने कसैलाई नलागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन्। 

विवादित उक्त विधेय छलफल गर्न भनिएको ठाउँ आसपासमा हजारौं प्रदर्शनकारीले शान्तिपूर्ण प्रदर्शन गरेको बताइएको छ। आइतबार पनि त्यहाँ ठूलो प्रदर्शन भएको थियो। प्रदर्शनमा लाखौँ मानिस सहभागी भए।

प्रहरी र प्रदर्नकारीहरूबीच हिंसात्मक झडपसमेत भएको बताइएको थियो। 

सेतो पोसाकमा देखिएका प्रदर्शनकारीले चर्को गर्मीमा पनि घण्टौं प्रदर्शन गरेका थिए। प्रदर्शनमा मुख्यगरी प्रजातन्त्र पक्षधर व्यवसायी, विद्यार्थी र  धार्मिक समूह  सहभागी थिए र प्रदर्शन मूलतः शान्तिपूर्ण थियो।

किन भइरहेको छ प्रदर्शन? 
उक्त विधेयकका आलोचकहरूले कानुनमा गरिने परिवर्तनपछि हत्या र बलात्कारजस्ता आपराधिक आरोप लागेका अभियुक्त आफूसमक्ष सुपुर्दगी गर्न चीन, ताइवान र मकाऊका अधिकारीहरूले आग्रह गर्न सक्छन्। 

हङकङका अधिकारीहरूले आग्रहअनुसार सुपुर्दगी गर्ने अनुमति दिने वा राजनीतिक वा धार्मिक अपराधका सन्दिग्धलाई सुपुर्दगी नगर्ने अन्तिम अधिकार हङकङको अदालतमा रहेको बताएका छन्।

सरकारले भने कम्तीमा ७ वर्षको जेल सजाय पाएर भागेकालाई मात्रै सुपुर्दगी गर्ने भन्दै सर्वसाधारणलाई आश्वस्त पार्न खोजेको छ। 

गत वर्षको फेब्रुअरीमा हङकङका १९ वर्षीय युवामाथि ताइवानमा बिदा मनाउन सँगै गएकी आफ्नी २० वर्षीया गर्भवती प्रेमिकाको हत्या गरेको अभियोगपछि कानुन संशोधनको उक्त प्रस्ताव आएको छ। ती युवा ताइवानबाट भागेर हङकङ फर्किएका थिए। ताइवानका अधिकारीहरूले उनलाई सुपुर्दगी गर्न हङकङका अधिकारीहरूलाई आग्रह गरेका थिए।

तर ताइवानसँगको सुपुर्दगी सम्झौताको अभावका कारण त्यसो गर्न नसकिने उत्तर हङकङका अधिकारीहरूको उठाएका थिए।

कुनै बेला बेलायतको उपनिवेश रहेको हङकङ सन् १९९७ मा चीनलाई फिर्ता गरिएयता ‘एक देश दुई प्रणाली’ को सिद्धान्तअन्तर्गत अर्धस्वायत्त छ।