काठमाडौं- विशेष अदालतले पूर्व प्रहरी महानिरीक्षक शैलेन्द्र श्रेष्ठसहित ४ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ।
सशस्त्रका पूर्व प्रहरी महानिरीक्षक शैलेन्द्र श्रेष्ठ, कोषराज वन्त, शरदकुमार बस्नेत र बासुदेव ओलीले भ्रष्टाचार मुद्दामा सफाइ पाएका हुन्।
सोमबार विशेष अदालतका बाबुराम रेग्मी, द्वारिकामान श्रेष्ठ र प्रमोदकुमार श्रेष्ठको इजलासले उनीहरुलाई सफाइ दिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७२ माघ २४ गते सशस्त्र प्रहरीका पूर्व महानिरीक्षक शैलेन्द्र श्रेष्ठसहित ४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो। सामान ढुवानी गर्दा फर्जी बिल बनाएर भ्रष्टाचार गरेको आरोपमा श्रेष्ठसहित ४ जनाविरुद्ध ८० लाख ९३ हजार ६ सय १० दाबी गरेको थियो।
अख्तियारले तत्कालीन लेखा प्रमुख, प्रहरी निरीक्षक तकमान महरा, भण्डार शाखाका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक रामचन्द्र श्रेष्ठ तथा अदिति ट्रान्सपोर्टका संचालक भरत कुमार थापामाथि मुद्दा दायर गरी अनुसन्धान गरेको थियो। उनीहरुले ८० लाखभन्दा बढी भ्रष्टाचार गरेको ठहर गर्दै मुद्दा दायर गरिएको थियो।
श्रेष्ठको २०६८ श्रावणदेखि चैत्रसम्मको करिब ९ महिने कार्यकालमा भएका ढुवानी प्रकरण उपर अनुसन्धान गर्दा श्रेष्ठको आदेश र निर्देशनमा तत्कालीन लेखा प्रमुख सशस्त्र प्रहरी निरीक्षक तकमान महरा, भण्डार शाखाका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक रामचन्द्र श्रेष्ठ तथा अदिती ट्रान्सपोर्टका संचालक भरत कुमार थापा समेतको मिलेमतोमा भ्रष्टाचार गरेको अख्तियारको आरोपपत्रमा उल्लेख थियो।
उनीहरुले सामान नै ढुवानी नगरी झुठ्ठा बिलभर्पाई तथा कागजपत्र तयार गरी संचालनमै नरहेका सत्यम् ट्रान्सपोर्टबाट समेत सामान ढुवानी गराएको भनी उक्त ट्रान्सपोर्टको समेत नक्कली बिल पेस गरी ८० लाख ९३ हजार ६ सय १० बराबरको रकम नेपाल सरकारलाई गैरकानूनी हानीनोक्सानी पुर्याउने कार्य गरेको अख्तियारको दाबी थियो।
भण्डार शाखाका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक रामचन्द्र श्रेष्ठसँग १८ लाख ३९ हजार ५ सय १० रुपैयाँ र अदिति ट्रान्सपोर्टका संचालक भरतकुमार थापासँग ५७ लाख २१ हजार ५ सय ७० रुपैयाँ बिगो दाबी गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।