संसदमा छायाँ श्रममन्त्रीको प्रश्न– योगदानमा आधारित सामाजिक सुरक्षा योजना किन कार्यान्वयन भएन? 

नेपाल लाइभ | २०७६ जेठ २९ बुधबार | Wednesday, June 12, 2019 १३:३०:०० मा प्रकाशित

काठमाडौं- नेपाली काग्रेसले बनाएको छायाँ सरकारकी श्रममन्त्री डा डिला संग्रौलाले सरकारले लागू गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको कार्यान्वयन पक्षमा जोड दिनुपर्ने भन्दै प्रतिनिधिसभा बैठकमा टिप्पणी गरेकी छन्। 

बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा छायाँ मन्त्री संग्रौलाले सामाजिक सुरक्षा योजना किन कार्यान्वय हुन सकेन र यसको कार्यान्वयनको अवस्था कस्तो छ भनेर प्रश्न उठाएकी छन्।

सरकारले चालु आर्थिक वर्षभित्रै कार्यान्वयनमा ल्याइने गरी योगदानमा आधारित सामाजिक सुरक्षा नयाँ युगको सुरुवात भन्दै बडो तामझामका साथ २०७५ मंसिर ११ गतेदेखि सुरु गरेको थियो।प्रधानमन्त्री केपी शर्मा ओलीले कामभन्दा खर्च बढी गरेको भन्दै सो कार्यक्रमको सुभारम्भमै आलोचना भएको थियो। 

हाल कार्यान्वयनका क्रममा रहेको सामाजिक सुरक्षा योजनाका लागि रोजगारदाता तथा श्रमिकहरुको सूचीकरण निकै न्यून रहेको छायाँ मन्त्री संग्रौलाले टिप्पणी गरेकी हुन्। यसले गर्दा श्रमिकहरुले विगतमा पाइरहेको सुरक्षा योजना पनि नपाउने र नयाँ योजनामा पनि जान सक्ने अवस्था नभएकाले  थप जटिलता सिर्जना भएको उनको भनाइ छ। 

यस विषयमा सरकारको ठोस कार्यक्रम हुनुपर्ने र सुरक्षा योजनामा अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई समेत तत्काल समेट्ने गरी सरकारले काम गर्नुपर्नेमा संग्रौलाले जोड दिएकी छन्। 

त्यस्तै वैदेशिक रोजगारमा रहेको श्रमिकहरुलाई मतदानको अधिकार दिलाउने सन्दर्भमा सर्वोच्च अदालतले श्रमिकको कार्यस्थलबाट मतदान गर्न पाउनुपर्छ भन्ने विषयप्रति सरकार मौन रहेको बताउँदै सो अधिकारको व्यवस्थामा पनि सरकारले ध्यान दिनुपर्ने उनले बताइन्।

सरकारले श्रमिकहरुका सम्बन्धमा लागू गरेको न्यूनतम ज्याला निजी क्षेत्रका विद्यालय, नर्सिङहोम लगायत थुप्रै कलकारखाना तथा उद्योगहरुमा लागू नभएको अवस्था रहेको र यसको कार्यान्वयनको लागि अनुगमन पक्षलाई जोड दिनुपर्ने भन्दै उनले ध्यानाकर्षण गराइन्।