सरकारको नेतृत्व आलोपालो नै हो : प्रचण्ड

नेपाल लाइभ | २०७६ जेठ २९ बुधबार | Wednesday, June 12, 2019 १२:१२:०० मा प्रकाशित

चितवन- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकीकरणका क्रममा सरकारको नेतृत्व आलोपालो गर्ने निर्णय भएको पुन: दोहोर्‍याएका छन्।

चितवनमा भएको पत्रकार सम्मेलनका क्रममा उनले भने, ‘किन पटकपटक बोल्न मेरो मुखबाट लगाइरहनहुन्छ, भएको सहमति त्यही हो।’

सरकारले संसदमा पेस भएका विधेयकहरु विवादमा पर्न थालेपछि प्रचण्डले तयारी पुर्‍याउन नसकिएको स्विकारेका छन्। सरकारले विधेयक ल्याउने क्रममा पूर्व तयारीमा ध्यान कम पुर्‍याएको उनले स्विकारे। ‘जति गृहकार्य भएर विधेयक आउनुपर्ने हो। त्यसो हुन सकेन। विधेयकले ल्याउने विषयमा सरकार अब सर्तक हुनेछ,’ उनले थपे, ‘आउने दिनमा पर्याप्त गृहकार्य गरेर सहमति गररै ल्याउनेतिर जान्छ।’ विवादित गुठी विधेयकलाई परिमार्जन गरेर नै अघि बढ्ने उनले जानकारी गराए।

प्रचण्डले लोकसेवा आयोगको विज्ञापनलाई कुन रुपमा अघि बढाउने भन्नेमा प्रधानमन्त्री युरोप भ्रमणबाट आएपछि छलफल गरी टुंग्याउने बताए। मिडिया काउन्सिल विधेयक पनि परिमार्जन हुने उनको भनाइ छ।

चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई प्रोत्साहन गर्न सरकारले पनि आवश्यक बजेट छुट्याउने उनले वचन दिए। ‘चन्दाले मात्रै यति ठूलो रंगशाला नबन्न सक्छ। सरकारले सहयोग गर्नुपर्छ भन्न आधार तयार पारेको हो।’ नीति तथा कार्यक्रममा रंगशालालाई प्रोत्साहन गर्ने विषय आफ्नो बलमा समावेश भएको उनले बताए।

प्रदेशको राजधानी पाँच वर्षको लागि पहिले तोकिएकै स्थानमा कायम राख्ने पनि उनले संकेत गरे।

पार्टी एकीकरणका सन्दर्भमा मूल कार्य सकिएको भन्दै उनले थपे, 'जिल्ला इन्चार्ज र सह-इन्चार्जका सन्दर्भमा केही जिल्ला टुंग्याउन बाँकी रहेपछि प्याकेजमा सबै एकीकरण सक्ने तयारी भएको छ।'

जिल्ला इन्चार्ज र सह-इन्चार्जलाई दोहोरो जिम्मेवारी दिनै हुन्न वा दिनैपर्छ भन्नेमा आफू नभएको उनको प्रस्टोक्ति थियो।