सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे गठित उपसमितिद्वारा प्रतिवेदन तयार

नेपाल लाइभ | २०७६ जेठ २९ बुधबार | Wednesday, June 12, 2019 १२:००:०० मा प्रकाशित

फाइल तस्बिर : विकास तथा प्रविधि समितिको बैठक।


काठमाडौं- सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे गठित उपसमितिले प्रतिवेदन तयार पारेको छ।

सांसद बिनाकुमारी श्रेष्ठको नेतृत्वमा गठित उपसमितिले बुधबार प्रतिवेदनलाई पास गरेको हो। संसदको विकास तथा प्रविधि समितिले २०७५ साल चैत १८ गते गठित सो उपसमितिले १६औं पटक बैठक बसी प्रतिवेदनलाई अन्तिम रुप दिएको हो। उपसमितिले पास गरेको प्रतिवेदन पूर्ण समितिमा पेस हुनेछ।

प्रतिवेदनमा सूचना प्रविधिको विकास र त्यसबाट आउनसक्ने जोखिम न्यूनीकरणमा सचेत हुने व्यवस्था गरिएको संयोजक श्रेष्ठले बताइन्। यद्यपि प्रतिवेदनमा कांग्रेस सांसद बहादुरसिंह लामाले भने असहमति दर्ज गरेका छन्। प्रतिवेदनमा उनले आफ्ना केही असहमति रहेको र त्यसलाई दर्ज गर्ने बताए।

यद्यपि उनले के-के असहमति छन् भन्नेबारे भने केही पनि खुलाएनन्।

विधेयकको ५५ वटा दफामा २७ जना सांसदले संशोधन प्रस्ताव हालेका थिए। उपसमितिको छलफलमा दुई पटक सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा स्वयं सहभागी भएका थिए।

उपसमितिमा अनिल झा, इन्दु शर्मा, केदार सिग्देल, राजेन्द्र लिङदेन, गौरीशंकर चौधरी, मिनाक्षी झा र प्रभु शाह सदस्य छन्।

सामाजिक सञ्जाल दर्ता, समाजिक सञ्जालमा जथाभावी लेख्नेलाई कारबाहीलगायतका विषय समेटिएको विधेयकको चर्काे विरोध भएको थियो। उपसमितिले तयार पारेको प्रतिवेदनले सबैका माग सम्बोधन गरेको दाबी श्रेष्ठले गरिन्।