प्रदेश १ : सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

नेपाल लाइभ | २०७६ जेठ २९ बुधबार | Wednesday, June 12, 2019 ०८:३३:०० मा प्रकाशित

फाइल तस्बिर।


विराटनगर- प्रदेश १ सरकारले प्रदेशसभामा आगामी आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। प्रदेश १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ३५(१) बमोजिम प्रदेश प्रमुख प्रा डा गोबिन्दबहादुर तुम्वाहाङले जेठ २३ गते सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

समग्र प्रदेशको विकासका लागि १ सय ५४ बुँदामा समेटिएको उक्त नीति तथा कार्यक्रममा प्रदेशसभा सदस्यद्वय जयराम यादव र शेखरचन्द्र थापाले संशोधन प्रस्ताव दर्ता गराएका थिए। संशोधन प्रस्तावका प्रस्तावक यादवको एक बुँदे प्रस्ताव मुख्यमन्त्री शेरधन राईले ग्रहण गरेकाले सदस्य यादवले सङ्घीयता, सुशासन र समाजवादलाई नीति तथा कार्यक्रमले संस्थागत गर्न बल पुग्ने भन्दै आफ्नो प्रस्ताव फिर्ता लिएका थिए।

संशोधन दर्ता गराएका थापाले भने आफ्ना संशोधन प्रस्ताव मुख्यमन्त्री राईले ग्रहण गरेको तर स्वीकार नगरेकाले प्रस्ताव यथावत रहेको प्रदेशसभामा जानकारी गराएका थिए।

प्रदेशसभा सदस्य थापाले दर्ता गराएको ११ बुँदे प्रस्तावमा मुख्यमन्त्री राईले जवाफ दिने क्रममा सबै बुँदा सकारात्मक रहेको र यस्ता अभ्यासले अझ निपूर्ण र परिपक्व बनाएको बताएका थिए। उनले संशोधन प्रस्तावमाथि जवाफ दिने क्रममा मदन भण्डारी, मनमोहन अधिकारी र बिपी कोइरालाको नाममा उद्यान निर्माणपछि गिरिजाप्रसाद कोइरालाको नाममा समेत उद्यान निर्माण गरिने घोषणा गरे।

मुख्यमन्त्री राईले नीति तथा कार्यक्रम अत्यन्त छरितो र स्पष्ट भएको जिकिर गरे। उनले सरकारले कृषिलाई पहिलो प्राथमिकतामा राखेको बताए। उनले आगामी ४ वर्षभित्र प्रत्येक गाउँपालिकामा एउटा उद्यान निर्माण गर्ने लक्ष्य सरकारले लिएको बताए। सरकाले आगामी आवमा पूँजीगत खर्च तीव्र गतिमा बढाउने उनले आश्वासन दिए।