रसुवा- रसुवामा ८ दिने नेपाल पदयात्रा सुरु भएको छ।
२०७२ बैसाख १२ को भूकम्प र त्यसपछिका परकम्पनबाट ज्यान गुमाएका व्यक्ति तथा परिवारको सम्झनामा मंगलबारबाट पदयात्रा सुरु भएको हो। भूकम्प गएको वर्ष सिन्धुपाल्चोकबाट सुरु भएको पदयात्रा दोस्रोपटक रसुवामा सञ्चालन गरिएको योङ्ग डुक्पा एसोसियसन नेपालका संयोजक प्रेम लामाले बताए। योङ्ग डुक्पा एसोसियसन नेपाल र लिभ टु लभ इन्टरनेशनलको सहयोगमा पदयात्रा सञ्चालन भएको हो। जिल्लाका विभिन्न स्थानमा ८ दिनसम्म पदयात्रा चल्नेछ।
जिल्लाको उत्रगया गाउँपालिकास्थित मैलुङबाट सुरु हुने पदयात्रा तिरु, ठुलोहाकु, गत्लाङ, गोङ्गाङ, थुमन टिमुरे हुँदै स्याफ्रुमा आएर टुंगिने उनको भनाइ छ। ढुक अमिताब माउन्टेन सेतो गुम्बा रामकोट सितापाइला काठमाडौंका प्रमुख धर्मगुरु खामटुल रिन्पोछेको नेतृत्वमा भएको पदयात्रामा ७० जना भिक्षुभिक्षुणी र एक सय ५० जना नेपाली तथा विदेशीको सहभागिता रहेको छ।
सो पदयात्रामा विभिन्न स्थानका गुम्बामा मृतात्माको चीरशान्तिको कामना गर्दै पूजापाठ, प्रबचन, मुलाङ, वाङ गरिने संयोजक लामाले बताए।
विनाशकारी भूकम्पबाट जिल्लामा ६ सय ८२ जनाले ज्यान गुमाएका थिए भने ६ सय ११ जना घाइते भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।