बैतडी- प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा बैतडीबाट नवनिर्वाचित सांसद तथा जनप्रतिनिधिले विद्युत् सेवा विस्तारका लागि पहल थालेका छन्।
प्रतिनिधिसभा सदस्य दामोदर भण्डारी, प्रदेशसभा (क) क्षेत्रका सांसद प्रेमप्रकाश भट्ट र प्रदेशसभा (ख) क्षेत्रका सांसद लीलाधर भट्टले संयुक्त रुपमा विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय, अत्तरियालाई मंगलबार आग्रह गरेका छन्।
बैतडीका मोतीनगर सवस्टेशन, पाटन–मेलौली सवस्टेशन, गिरेगडा सवस्टेशन र कटौजपानी सवस्टेशनको काम यथाशीघ्र अगाडि बढाउनका लागि उनीहरुले आग्रह गरेका हुन्। क्षेत्रीय कार्यालयले गर्नुपर्ने प्रक्रिया यथाशक्य पूरा गरी विद्युत् विस्तारको काम अगाडि बढाउन भन्दै तीनैजना सांसद कार्यालयमा पुगेका थिए।
बैतडीमा रहेका १० स्थानीय तहमध्ये ६ तहका बासिन्दा विद्युतीकरणबाट वञ्चित छन्। प्रदेशसभा (ख) का सांसद लीलाधर भट्टले भने, 'विकट क्षेत्रका नागरिकको पनि विद्युत्मा पहुँच पुर्याउन लिखित रुपमा आग्रह गरेका हौँ।' रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।