काठमाडौं– सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले तेस्रो पार्टीले सरकार निर्माण गरेको इतिहास नबिर्सिन नेकपा एमालेलाई आग्रह गरेका छन्।
सरकारका तर्फबाट सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री बस्नेतले जनताको मत सधैं स्थिर नहुने र एउटै पार्टीले बहुमत प्राप्त नगर्ने स्मरण गराए। वाम गठबन्धनलाई लक्षित गर्दै उनले भने, ‘विगतमा तेस्रो स्थानमा रहेका पार्टीहरुले कसरी सरकार गठन गरे, इतिहास अध्ययन गरियोस्।’
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस तेस्रो भएपछि वाम गठबन्धनले नयाँ सरकार गठनका लागि शेरबहादुर देउवाको राजीनामा माग गरेकाप्रति जवाफ दिँदै सञ्चारमन्त्री बस्नेतले इतिहास हेर्न भनेका हुन्।
एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबारबाट होटल अन्नपूर्णमा पत्रकार सम्मेलन गर्दै नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न आग्रह गरेका थिए।
यसबारे सरकारका तर्फबाट जवाफ दिँदै मन्त्री बस्नेतले तेस्रो पार्टीले सरकार निर्माण गरेको इतिहास नबिर्सन आग्रह गरेका हुन्। ०५६ सालको निर्वाचनपछि पञ्चायत पृष्ठभूमिको राप्रपा तेस्रो शक्ति बनेको थियो। राप्रपाले पालैपालो एमाले र नेपाली कांग्रेससँग मिलेर सरकार चलाएको थियो।
संविधानसभाको पहिलो निर्वाचनपछि तेस्रो शक्ति बनेको एमालेका अध्यक्ष झलनाथ खनाल र माधव नेपाल प्रधानमन्त्री भएका थिए। यस्तै, दोस्रो संविधानसभा निर्वाचनपछि दोस्रो शक्तिको रुपमा आएको माओवादीले एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनायो।
इतिहासको उक्त तथ्यतर्फ इंगित गर्दै सञ्चारमन्त्री बस्नेतले एमाले बाहेकको मोर्चा निर्माण हुन सक्ने चेतावनी एमालेलाई दिए।
‘लोकतान्त्रिक पद्धतिमा सत्ता हस्तान्तरण शालीन सुकर्म हो, सत्ता र सरकार कसैको स्थायी हुँदैन भन्ने हामीलाई थाहा छ’, बस्नेतले भने, ‘वर्तमान सरकारले सहज सत्ता हस्तान्तरणका लागि वैधानिक उपायको खोजी गरिरहेको छ।’
'एमाले अहंकारी हुँदैछ'
पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बस्नेतले सरकार सत्ताभन्दा संवैधानिक व्यवस्थाको पालना गर्न तयार रहेको तर अन्तिम मतपरिणाम नआउँदै एमाले अहंकारी दलको रुपमा देखा परेको आरोप लगाए।
‘चुनावी परिणाम घोषणा भएर विजयी भएको प्रमाण लिनासाथ सीधै कार्यपालिका कब्जा गर्ने, प्रधानमन्त्री र मन्त्री पद सम्हालिहाल्ने त पक्कै होइन होला नि !’ मन्त्री बस्नेतले भने, ‘राजनीतिक दलले संसदीय दलको नेता चयन गरेकै छैन र निर्वाचन आयोगले सबै निर्वाचन सम्पन्न भएको जानकारी दिनै बाँकी छ।’
मन्त्री बस्नेतले एमालेले प्रत्यक्षतर्फ बहुमत पाउँदैमा अन्य दललाई हेप्न जरुरी नभएको बताए।
नियुक्ति अझै हुन्छन्
सञ्चारमन्त्री बस्नेतले सरकार राजीनामा दिएको वा कामचलाउ दुवै नभएकाले राजनीतिक नियुक्तिहरु अझै हुने बताए। संविधानको व्यवस्था अनुसार दुई तहको निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्व मात्र पूरा गरेकाले कामचलाउ भनी नियुक्ति नगर्न दबाव दिनु उचित नभएको बस्नेतले बताए।
विगतमा राजीनामा दिइसकेको सरकारले समेत राजनीतिक नियुक्ति गरेको इतिहास रहेको भन्दै बस्नेतले अन्य सरकारी निकायमा अझै नियुक्तीको तयारीमा सरकार रहेको बताए।
‘प्रधानमन्त्री देउवाले प्रधानमन्त्री पदबाट राजीनामा नदिएसम्म राजनीतिक नियुक्ति भइरहन्छन्’, मन्त्री बस्नेतले भने, ‘संविधानले दिएको अधिकार र सीमासम्म सरकारलाई अघि बढ्नबाट कसैले रोक्न सक्दैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।