सुर्खेत– विगतका हरेक निर्वाचनपछि मतदाताहरुको एउटै गुनासो हुने गरेको थियो, ‘निर्वाचनअघि घरघरै आएर भेट्ने नेताहरु चुनावपछि फर्केर आउँदैनन्।’ तर, अब भने सुर्खेतका मतदाताले यस्तो गुनासो गर्न नपर्ने भएको छ। प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनसम्म आइपुग्दा विगतको राजनीतिक संस्कार बदलिएको छ। यतिबेला यहाँका विजयी सांसद मात्र होइन, पराजित उम्मेदवारहरु पनि मतदाता भेट्न गाउँ–गाउँ पुगेका छन्।
मंसिर २१ गते सुर्खेतमा भएको प्रदेश र प्रतिनिसिभाको निर्वाचनमा विजयी भएका वाम गठबन्धनका उम्मेदवारहरु टोलटोलमा पुगेर विजयोत्सव मनाइरहँदा पराजित उम्मेदवारहरु पनि टोलटोलमै पुगेर आफूलाई मतदान गर्ने मतदातालाई धन्यवाद दिइरहेका छन्। जिल्लाका ६ वटै निर्वाचन क्षेत्रबाट विजयी भएका वाम गठबन्धनका उम्मेदवारहरु घरदैलो गर्दै मतदाताबाट बधाई थापिरहेका छन्। निर्वाचनमा पराजित भएका नेपाली कांग्रेसका उम्मेदवारहरु पनि घरदैलो अभियान गरेरै मतदातालाई धन्यवाद ज्ञापन गर्न जुटेका छन्।
प्रतिनिधिसभातर्फ सुर्खेतको क्षेत्र नम्बर १ बाट निर्वाचित ध्रुवकुमार शाही र सो क्षेत्रको प्रदेशसभा ‘क’ र ‘ख’ मा निर्वाचित ठम्मर विष्ट तथा खड्क खत्री आ–आफ्ना क्षेत्रमा पुगेर मतदातालाई धन्यवाद दिँदै निर्वाचनअघिका वाचा पूरा गर्ने प्रतिबद्धता जनाएका छन्। यस्तै, प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर २ बाट निर्वाचित नवराज रावत र सो क्षेत्रको प्रदेशसभा ‘क’ र ‘ख’का निर्वाचित सदस्य यामलाल कँडेल तथा विन्दमान विष्टले पनि मतदातालाई भेट्दै बधाई साटासाट गरिरहेका छन्।
उनीहरुले आफूले प्रतिनिधित्व गर्ने निर्वाचन क्षेत्रका साथै समग्र जिल्ला र प्रदेशको विकासका लागि काम गर्ने प्रतिबद्धता मतदातासामु दोहोर्याएका छन्।
‘निर्वाचनअघि जुन एजेन्डाहरु लिएर भोट मागेका थियौं, अहिले जितिसकेपछि पनि मतदाताहरुमाझ पुगेर तिनै वाचा पूरा गर्ने प्रतिबद्धता दोहोर्याएका छौं’, प्रतिनिधिसभा सदस्यमा विजयी नवराज रावतले भने। अब स्थिर सरकार बन्ने र त्यसपछि विकास हुने आश्वासन विजयी उम्मेदवारहरुले बाँडिरहेका छन्।
विगतमा निर्वाचनको बेला मत माग्न मात्र जाने तर विजयी भइसकेपछि फर्केर नहेर्ने संस्कारको अन्त्य गर्न आफूहरु परिणाम आइसकेपछि पनि मतदाताको घरदैलोमा पुगेर धन्यवाद दिइरहेको बताउँछन्, प्रदेशसभा सदस्यमा निर्वाचित सांसद विन्दमान विष्ट। उनले चुनावअघि मात्र होइन, विजयी भइसकेपछि पनि पुनः मतदातासम्म पुगेर धन्यवाद दिनुपर्ने संस्कारको विकास गर्नुपर्ने बताए। यसले आफ्ना जनप्रतिनिधिहरुप्रति मतदाताको विश्वास अझ बलियो हुने उनको भनाइ छ।
‘हामीले जनताले गुनासो गर्नै नपर्नेगरी काम गर्ने प्रतिबद्धता गरेका थियौं, सोही अनुसार विजयी भइसकेपछि पनि जनताले फर्केर आएनन् भन्ने गुनासो गर्न नपरोस् भनेर पुनः मतदाताकहाँ पुगिरहेका छौं’, उनले भने।
विजयी सांसदहरु मतदाता भेट्दै खुसियाली साटिरहँदा प्रतिनिधिसभा तथा प्रदेशसभा दुवैमा पराजय भोगेको नेपाली कांग्रेसका उम्मेदवार तथा नेताहरु पनि गाउँ–गाउँ पुगिरहेका छन्। चुनावी परिणामको समीक्षा गर्दै उनीहरुले मतदाता भेट्न थालेका हुन्।
जिल्ला कार्यसमिति, क्षेत्रीय कार्य समिति, नगर समिति तथा प्रचारप्रसार समितिले छुट्टाछुट्टै चुनावी समीक्षा गरेका छन्। समीक्षामा पराजित हुनुका कारणहरु केलाउँदै आगामी दिनमा पार्टी सशक्त बन्ने र त्यसका लागि नेता–कार्यकर्तालाई अहिल्यैदेखि खटिन निर्देशन समेत दिइएको छ।
कांग्रेस नेताहरुले मतदातालाई भेट्दै प्राविधिक कारणले निर्वाचनमा पराजित भए पनि विचलित नभई काम गर्न हौसला प्रदान गरिरहेका छन्। पार्टीलाई थप बलियो बनाउन अहिल्यैदेखि पार्टी सुदृढीकरण, विस्तार र निर्माण तथा जनताको सेवामा खटिन नेताहरुले स्थानीय नेता–कार्यकर्तालाई निर्देशन दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।