काठमाडौं- माओवादी केन्द्रका नेता तथा सरकारमा बिनाविभागीय उपप्रधान एवं परराष्ट्र मन्त्री कृष्णबहादुर महराले वर्तमान सरकारमा आफूहरु रहनु वा छाड्नुको कुनै अर्थ नरहेको बताएका छन्।
चुनावको सुनिश्चितताका लागि वर्तमान सरकारमा आफूहरु बसेको दाबी गर्दै महराले चुनावपछि कामचलाउ बनेको सरकारले कुनै राजनीतिक महत्व नराख्ने बताए।
‘सरकार छाड्ने विषयमा हामीले समेत गम्भीर तरिकाले सोचेका छौं’, उनले नेपाल लाइभसँग भने, ‘कामचलाउ भइसकेको सरकारको कुनै अर्थ नभएकाले हामी सरकार छाड्नु-नछाड्नुको कुनै औचित्य छैन।’
चुनावी परिणाम सार्वजनिक भएसँगै वाम गठबन्धनले प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकार छाडेर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न आग्रह गर्दै आएका छन्। सरकारमा माओवादी केन्द्रका समेत मन्त्रीहरु विना विभागीय हैसियतमा रहेका छन्।
माओवादी केन्द्रले नैतिक रुपमा अहिले सरकार छाड्दा के फरक पर्छ भन्ने प्रश्नमा महराले भने, ‘अहिले सरकार नछाड्दा के फरक पर्छ र?’
वर्तमान सरकारको प्रमुख सत्ता साझेदार रहेको माओवादी केन्द्रले अप्रत्यासित रुपमा एमालेसँग पार्टी एकताको घोषणा गर्दै चुनावी तालमेल गरेपछि प्रधानमन्त्री देउवाले माओवादीबाट सरकारमा सहभागी सबैलाई विनाविभागीय मन्त्रीको हैसियतमा झारिदिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।