काठमाडौं- चार दिनसम्म ३७ चित्रकारले बनाएका लोक कलाका चित्रहरुलाई प्रदर्शनीमा राखिएको छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको केन्द्रीय कार्यालयमा जारी ४ दिवसीय आवासीय लोककला कार्यशाला सम्पन्न भएसँगै सबै चित्रहरुलाई प्रदर्शनीमा राखीएको हो।
प्रतिष्ठानको लोककला विभागद्वारा आयोजित कार्यशालामा मिथिला चित्रकला, नेवार कला, थारु कला, राजवंशी कला, तामाङ कलालगायतका कला क्षेत्रका ३७ जना कलाकार सहभागी थिए। ती कलाकारले चार दिनको अवधिमा आ-आफ्नो कला, संस्कृति र परम्परा सुहाउँदो ४० वटा चित्र कोरेका थिए।
कार्यशालामा सरिता चित्रकार, सञ्जय वान्तवा, सूर्यबहादुर चित्रकार, रन्जु यादव, लक्ष्मण मण्डल, पुनम दास, सरिता मण्डल, हरेराम यादव, विरेन्द्र राजवंशी, बसन्ती चौधरी, गीता ठाकुर, राजन महर्जन, रेखा ठाकुर, शिवछाङ्छ राई र लेख मगरलगायतका लोक चित्रकार सहभागी थिए।
लोककला विभागकी प्रमुख मिथिला देवी यादवको अध्यक्षता र प्रतिष्ठानका उपकूलपति गोपाल चित्रकारको प्रमुख आतिथ्यमा सोमबार प्रतिष्ठानकै प्रदर्शनी हलमा एक समारोहकाबीच कार्यशाला सम्पन्न गरियो।समापन समारोहलगत्तै सुरु गरिएको लोक कलाका चित्रहरुको प्रदर्शनी असार ५ गतेसम्म चल्नेछ।
लोककला विभाग प्रमुख एवम् वरिष्ठ मिथिला चित्रकार यादवले नेपालमा छरिएका रहेका मौलिक लोककलाको संरक्षण, विकास र विस्तारका लागि कार्यशाला आयोजना गरिएको बताइन्।
यस आवासीय कार्यशाला अगाडि प्रदेश २ को सप्तरी र प्रदेश ५ को दाङमा लोककला कार्यशाला सम्पन्न गरिएको र अब मुलुकका अन्य स्थानमा पनि यस्तै कार्यशाला र प्रदर्शनीहरु आयोजना गर्ने यादवको भनाइ छ।
कार्यशाला जेठ २४ गते शुक्रबारबाट सुरु भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।