जनकपुर- प्रदेश २ सरकारको नीति तथा कार्यक्रम बुहमतले पारित भएको छ।
प्रदेशसभाको सोमबार बसेको बैठकमा नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो।
सत्तारुढ सांसदले संशोधन दर्ता गराएपछि प्रदेश सरकार संकटमा परेको थियो।
सत्तासीन राजपाका महासचिव समेत रहेका सांसद मनिष सुमन, सांसद विदेश्वर यादव ‘विक्की, डा. रिना यादव, नेत्रबिक्रम साह र सचेतक परमेश्वर साहले संशोधन दर्ता गराएका थिए।
तर पाँचै जनाले संशोधन फिर्ता लिएपछि सरकारलाई सजिलो भएको हो।
असन्तुष्ट सांसदहरुलाई मनाउन राजपा अध्यक्ष मण्डलका ६ जना सदस्य नै जनकपुर आएर तीन दिनसम्म कसरत गरेका थिए।
नेकपाका किशोरी साह, सुन्दरबहादुर विक, दिलिप साह, ज्वालाकुमारी साह, रामचन्द्र मण्डलको संशोधन बहुमतले अस्वीकृत भयो।
प्रदेशसभामा गत जेठ १९ गते प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।
नीति तथा कार्यक्रममा नेपाली कांग्रेसका सांसद शिवचन्द्र चौधरीलेले पनि संशोधन हालेका थिए तर, फिर्ता लिए।
नीति तथा कार्यक्रम पारित गर्ने क्रममा कांग्रेसका सांसदहरुले हुन्छ वा हुन्न केही नभनेर मौन बसेका थिए।
प्रदेशसभामा नीति तथा कार्यक्रमबिरुद्व उठेका जिज्ञासाहरुको जवाफ दिदैं मुख्यमन्त्री लालबाबु राउतले हिन्दी भाषालाई सम्पर्क भाषा नबनाउने बताएका छन्।
नीति तथा कार्यक्रममा हिन्दी भाषालाई प्रदेशको सम्पर्क भाषा बनाउने उल्लेख गरिएपछि नेकपा र कांग्रेसका सांसदहरुले यसको चर्काे विरोध गरेका थिए।
मुख्यमन्त्री राउतले अहिले विकास गर्ने समय भएकाले प्रदेश सरकार भाषा विवादमा नलाग्ने बताए।
सांसदहरुलाई आश्वस्त पार्दै उनले भने, ‘यहाँहरुको मानहानी हुने किसिमले प्रदेश सरकारले कुनै काम गर्दैन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।