जनकपुर- मुख्यमन्त्री लालबाबु राउतले विभेदमा परेका थारु समुदायले अधिकार प्राप्तिको लागि संघर्ष गर्नुको विकल्प नरहेको बताएका छन्।
थारु आयोगले सोमबार जनकपुरमा आयोजना गरेको छलफल तथा अन्तर्किया कार्यक्रममा मुख्यमन्त्री राउतले मुलुक संघीय गणतन्त्रमा गएपनि कार्यन्वयन पक्ष इमान्दार नभएकोले संघर्ष अपरिहार्य रहेको उल्लेख गरे।
संघर्ष नगरेसम्म कुनै समुदायले अधिकार प्राप्त गर्न नसकेको इतिहास रहेको जिकिर गर्दै मुख्यमन्त्री राउतले आफ्नो भविष्य परिवर्तनका लागि थारुमा लड्ने साहस जुटाउन आग्रह गरे।
आयोग गठनमा समेत विभेद भएको बताउँदै उनले महिला आयोग र दलित आयोग जति अधिकार थारु, मधेशी, मुश्लिम आयोगलाई नदिइएको दाबी गरे।
आयोग गठन हुँदैमा थारु समुदायको भविष्य परिवर्तन नहुने उल्लेख गदै उनले आयोगलाई बल पुर्याउन समेत थारु समुदायलाई संघर्ष गर्नु पर्ने आवश्यकता रहेको उल्लेख गरे।
मुख्यमन्त्री राउतले प्रदेश २ सरकारले सबै जातजातिलाई समान दृष्टिले हेर्ने बताउँदै प्रदेश सरकारले सबै निकायमा जनसंख्याको आधारमा प्रतिनित्वको सुनिश्चितता गरिएको दाबी गरे।
आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश २ का थारु अगुवा, जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।