माली- अफ्रिकी देश मालीमा भएको जातीय आक्रमणमा परी कम्तीमा ९५ जनाको मृत्यु भएको छ।
आइतबार मालीको सांघा नगरको सोबाले कोउ भन्ने स्थानमा भएको जातीय आक्रमणमा परी कम्तीमा ९५ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था 'फ्रान्स २४' ले पुष्टि गरेको छ।
मध्य मालीमा पर्ने सो गाउँमा डोगोन समुदायका आदिवासीको बसोबास रहेको क्षेत्रमा आक्रमण भएको थियो। पछिल्लो समय मालीमा निरन्तर आक्रमण हुन थालेको छ।
डोगोन समुदायका मानिस र फुलानी आदिवासीबीच यसअघि पनि पटकपटक आक्रमणका घटना भएका छन्।
हतियारधारी आक्रमणकारीले गाउँमा आगो लगाएको र गोलीसमेत चलाएर भागेको स्थानीय सहर सांघाका मेयर क्रिस्टेल पिरेले फ्रान्स २४ का संवाददातालाई बताएको उल्लेख छ।
यसपछि त्रसित बनेका स्थानीयबासी भाग्न खोजेका थिए। भाग्ने क्रममा धेरैको जलेर मृत्यु भएको बताइएको छ।
मेयर पिरेले ९५ जनाको शव प्राप्त भइसकेको र अन्य धेरै हराइरहेको बताएका छन्।
यसैगरी मालीको रक्षा मन्त्रालयले पनि ९५ जनाको शव प्राप्त भएको जानकारी दिएको छ।
डोगोन र फुलानी समुदायबीच लामो समयदेखि पानी र जमिनका विषयमा विवाद हुँदै आएको छ।
यसअघि गत मार्च महिनामा कम्तीमा पनि १ सय ३० फुलानी समुदायका मानिस मारिएका थिए।
उनीहरुलाई डोगोन समुदायका मानिसले मारेको बताइँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।