काठमाडौँ- हङकङमा सन् २००३ को प्रदर्शनलाई सम्झाउने गरी आइतबार ठूलो प्रदर्शन भयो।
बिबीसीका अनुसार सुपुर्दगीसम्बन्धी एउटा प्रस्तावित विधेयकको विरोधमा भएको प्रदर्शनमा लाखौँ मानिस सहभागी भए।
प्रहरी र प्रदर्नकारीहरूबीच केही हिंसात्मक झडप समेत भएको बताइएको छ।
सेतो पोसाकमा देखिएका प्रदर्शनकारीले चर्को गर्मीमा पनि घण्टौं प्रदर्शन गरेका थिए। प्रदर्शनमा मुख्यगरी प्रजातन्त्र पक्षधर व्यवसायी, विद्यार्थी र धार्मिक समूह सहभागी थिए र प्रदर्शन शान्तिपूर्ण थियो।
र्याली सम्पन्न भएपछि प्रहरीसँग सयौँ प्रदर्शनकारीहरूको झडप भएको थियो।
प्रदर्शनकारीहरू प्रहरीले खडा गरेको अवरोध पन्छाएर विधान परिषद्को भवनमा प्रवेश गर्न खोजेका थिए।
त्यसपछि प्रहरीले अश्रुग्यास र लाठी प्रहार गरेको थियो। दुवै पक्षका केहीको अनुहार रगताम्य देखिएको थियो।
प्रदर्शनकारीहरूले विरोध र्यालीमा १० लाख मानिस सहभागी भएको बताएका छन् तर प्रहरीले फरक तथ्याङ्कमा उपलब्ध गराएको छ।
प्रदर्शनकारीहरूले दुई दशकभन्दा बढी समयदेखि यति ठूलो प्रदर्शन नभएको दाबी गरेका छन्।
सन् २००३ मा हङकङमा ठूलो प्रदर्शन भएको थियो।
उक्त विधेयकका आलोचकहरूले कानुनमा गरिने परिवर्तनपछि हत्या र बलात्कारजस्ता आपराधिक आरोप लागेका अभियुक्त आफूसमक्ष सुपुर्दगी गर्न चीन, ताइवान र मकाऊका अधिकारीहरूले आग्रह गर्न सक्छन्। त्यसबारे मुद्दा हेरेर निर्णय गर्न सकिनेछ।
हङ्कङका अधिकारीहरूले आग्रहअनुसार सुपुर्दगी गर्ने अनुमति दिने वा राजनीतिक वा धार्मिक अपराधका सन्दिग्धलाई सुपुर्दगी नगर्ने अन्तिम अधिकार हङ्कङको अदालतमा रहेको बताएका छन्।
सरकारले भने कम्तीमा ७ वर्षको जेल सजाय पाएर भागेकालाई मात्रै सुपुर्दगी गर्नै भन्दै सर्वसाधारणलाई आश्वस्त पार्न खोजेको छ।
गत वर्षको फेब्रुअरी महिनामा हङ्कङका १९ वर्षीय युवामाथि ताइवानमा बिदा मनाउन सँगै गएकी आफ्नी २० वर्षीया गर्भवती प्रेमिकाको हत्या गरेको अभियोगपछि कानुन संशोधनको उक्त प्रस्ताव आएको छ।
ती युवा ताइवानबाट भागेर हङ्कङ फर्किएका थिए। ताइवानका अधिकारीहरूले उनलाई सुपुर्दगी गर्न हङ्कङका अधिकारीहरूलाई आग्रह गरेका थिए।
तर ताइवानसँगको सुपुर्दगी सम्झौताको अभावका कारण त्यसो गर्न नसकिने उत्तर हङ्कङका अधिकारीहरूको उठाएका थिए।
कुनै बेला बेलायतको उपनिवेश रहेको हङ्कङ सन् १९९७ मा चीनलाई फिर्ता गरिएयता ‘एक देश दुई प्रणाली’ को सिद्धान्तअन्तर्गत अर्धस्वायत्त छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।