–भगवान गिरी/रासस
लिस्वन- सन् २०१९ ट्रेल विश्व च्याम्पियनसिपमा पुरुषतर्फ बेलायतका जोनाथान अल्बोन च्याम्पियन बनेका छन्। उनले ३ घण्टा ३५ मिनट ३४ सेकेण्डमा निर्धारित दूरी पार गर्दै विश्व च्याम्पियन बनेका हुन्।
उक्त च्याम्पियनसिपमा फ्रान्सका जुलियन रान्कन ३ घण्टा ३७ मिनट ४७ सेकेण्डमा दूरी पार गरी दोस्रो भए भने ३ घण्टा ४० मिनट ३४ सेकेण्डमा दूरी पार गरेर स्विट्जरल्यान्डका क्रिष्टियान माथेस तेस्रो भए।
यस्तै महिलातर्फ फ्रान्सकी ब्लान्डिन लिरोन्डेल प्रथम, न्युजिल्यान्डकी रुथ क्रोफ्ट द्वितीय तथा स्पेनकी सेइला अभिलेस तृतीय भइन्। उनीहरुले क्रमशः ४ घण्टा ६ मिनट १७ सेकेन्ड, ४ घण्टा १४ मिनट २८ सेकेन्ड तथा ४ घण्टा १५ मिनट ४ सेकेण्डमा निर्धारित दूरी पार गरेका थिए।
नेपाली झण्डा विदेशी भूमिमा फहराउँदै उत्साहका साथमा उक्त च्याम्पियनशिपमा सहभागी नेपालका धावकहरुले पनि सन्तोषजनक खेल प्रदर्शन गरेका छन्। पुरुषतर्फ दुर्गाबहादुर बुढाले १७औँ स्थान तथा आइते तामाङले ६७औँ स्थान प्राप्त गरे। महिलातर्फ सुनमाया बुढा मगरले ४६औँ स्थान प्राप्त गरिन्।
सहभागी खेलाडीहरुले शुक्रबार उद्घाटन सत्रमा नेपालको झण्डा फहराएका थिए। पोर्चुगलको कोइम्ब्रामा भएको उद्घाटन सत्रमा नेपाली समर्थकलेसमेत नेपाली झण्डा फहराएका थिए।
खेलाडीको हौसला बढाउन लिस्वनबाट आएको एउटा समूह बजार परिक्रमामा सहभागी भएको थियो। उक्त समूहमा नेपाली समाज पोर्चुगलका अध्यक्ष सोम शेर्पा, मगर समाजका अध्यक्ष चोपकुमार राना मगर, व्यवसायी धनराज शेर्पालगायत सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।