तेहरान- अमेरिकी प्रतिबन्धपछि पनि इरानले आफ्नो तेल उत्पादनलाई निर्यात गरिरहेको बताएको छ।
'अमेरिकी प्रतिबन्धका कारण इरानको पेट्रोलियम पदार्थ खरिदमा विभिन्न मुलुक डराएपछि इरानले आफ्नो उत्पादनलाई ‘फरक ढङ्ग’ले बजारमा पठाइरहेको छ,' इरानका तेलमन्त्री विजान नाम्दार जान्गानेहले शनिबार स्थानीय पत्रिकालाई दिएको अन्तवार्तामा भनेका छन्।
'हामीले अनाधिकारिक तथा फरक ढङ्गले तेलको बिक्री गरिरहेका छौँ र यसबारे सबै कुरा गोप्य राखिएको छ। यदि यो अमेरिकालाई जानकारी भएमा अमेरिकाले यसलाई तत्काल रोक्छ,' इरानको पेट्रोल मामिला हेर्ने मन्त्रालयलाई उद्धृत गरी शाना न्युज एजेन्सीले समाचार प्रकाशन गरेको छ।
जानगानेहले कति मात्रामा तेलको निर्यात भइरहेको छ र कहाँबाट कसलाई तेल बेचिएको छ भन्नेबारे विस्तृत विवरण प्रतिबन्ध फुकुवा भएपछि मात्र बताइने उल्लेख गरे।
इरानसँग विश्व शक्ति राष्ट्रहरूले गरेको आणविक सम्झौताबाट संयुक्त राज्य अमेरिका औपचारिक रूपमा फिर्ता भएको घोषणा गत वर्षको मे महिनामा भएको थियो। त्यसपछि वासिङ्टनले इरानलाई नयाँ सम्झौता गर्न दबाब दिन पहिलेका प्रतिबन्धमाथि थप कडाइ गर्दै नयाँ प्रतिबन्धको समेत घोषणा गरेको थियो।
इरानको तेल निर्यात गत वर्षको अक्टोबरमा प्रतिदिन १५ लाख ब्यारेल रहेकोमा नयाँ प्रतिबन्धपछि अप्रिलमा ५० प्रतिशत कमी (सात लाख ५० हजार ब्यारेल) आएको ब्लुमवर्गले आफ्नो समाचारमा उल्लेख गरेको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।