काठमाडौं– नेपाल एसिसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ। थाइल्यान्डको ट्रेडथाइ मैदानमा आइतबार भएको फाइनलमा सिंगापुरलाई ७१ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो।
यसअघि नेपालले सन् २०१४ मा मलेसियामा भएको एसिसी यू–१६ प्रिमियर प्रतियोगिता जितेको थियो। सन् २०१२ को फाइनलमा भने नेपाललाई मलेसियाले हराएको थियो।
नेपालले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१.५ ओभरमा १ सय १२ रनमा अलआउट भयो।
सिंगापुरका लागि ओपनिङ ब्याट्सम्यान शाहीहर्ष भेनुगोपालले सबैभन्दा बढी ३१ रनको योगदान गरे। उनले ६५ बल खेल्दा २ चौका प्रहार गरे। अर्नव वाडवाले २१ रन र राहुल शर्माले १५ रनको योगदान गरे।
बलिङतर्फ नेपालका सूर्य तामाङ र अजयकुमार लोनियाले ३–३ विकेट लिए। कुशल मल्ल र नारायण जोशीले १–१ विकेट हात पारे।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ६ विकेट गुमाएर १ सय ८३ रन जोड्यो। नेपालका लागि विशाल विक्रम केसीले सबैभन्दा बढी ६३ रनको योगदान गरे। उनले ७९ बलमा ४ चौका र १ छक्का प्रहार गरे। सुवास ऐरले २२ रनको योगदान गरे।
नारायण जोशीको नटआउट ४६ रन नेपालका लागि महत्वपूर्ण साबित भयो। उनले २३ बलमा ५ चौका र १ छक्का प्रहार गरेपछि नेपालको इनिङ बलियो बनेको थियो। प्रतिश जिसी ६ बलको सामना गरेर १० रनमा नटआउट रहे। सुनील भण्डारीले पनि १५ रनको योगदान गरे।
त्यसअघि खराब सुरुवात गरेको नेपालका ओपनरद्वय कुशल मल्ल शून्य र राजन मगर ३ रनमै आउट भएका थिए।
बलिङतर्फ सिंगापुरका इसान सनीले २ विकेट लिए।
नेपालको ब्याटिङ स्कोरकार्ड :

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।