काठमाडौं– नेपाल वायु सेवा निगमका दुई वाइडबडी खरिद सम्बन्धमा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले गठन गरेको उपसमितिले खरिद प्रक्रिया बदनियतपूर्ण रहेको ठहर गरेको छ।
कागजात र प्रक्रिया नै पूरा नगरी खरिद विक्री सम्झौता गरिएकाले खरिद प्रक्रिया नै बदनियतपूर्ण रहेको निष्कर्ष सहितको प्रतिवेदन समितिलाई बुझाइएको छ।
प्रतिवेदनमा भनिएको छ, ‘निगमले कानूनी सल्लाहकारसँग लिखित सल्लाह समेत नलिइकन यति ठूलो रकमको खरिद प्रक्रियामा एकलौटी निर्णय गर्नु प्रक्रियागत त्रुटी र अनुचित भएको स्पष्ट हुन्छ।’
यसका विषयमा संसदीय समिति, महालेखा परीक्षक र अख्तियारले दिएका निर्देशनहरु कर्यान्वयन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र निगम सञ्चालक समितिलाई निर्देशन दिइएको छ।
मूल्य वृद्धिको रकम फिर्ता गर्न निर्देशन
नेपाल वायु सेवा निगमले मूल्यवृद्धि टेन्डरको सामान्य प्रक्रिया बताए पनि एएआर कर्पबाहेकका बोल पत्रमा यसका विषयमा कुनै उल्लेख नभएको पाइएको छ।
वित्तीय प्रस्तावमा सरोकार नभएको तथा कुनै जिम्मेवारी नभएको एअरबसको गैरजिम्मेवार इमेलका आधारमा एकतर्फी ढंगले विक्रेतालाई अति फाइदा पुर्याउने उद्देश्यले मूल्य वृद्धि गरी थप रकम भुक्तानी गर्ने निर्णय पनि बदनियतपूर्ण रहेको उपसमितिको निष्कर्ष छ।
मूल्य वृद्धि गरी भुक्तानी गरेको रकम फिर्ता गराउन नेपाल सरकारलाई निर्देशन दिने भनिएको छ।
एजेन्टमा पनि उस्तै
विमान खरिद वाार्तामा संलग्न टिमले स्ट्यान्र्ड चार्डड वा ग्लोबल बैंकलाई एस्कु प्रतिनिधि नियुक्त गर्न सिफारिस गरेता पनि सिफारिस लागू नगरी विक्रीर्तालाई फाइदा पुग्ने गरी नर्टन बोल्ट फुलब्राइटलाई विक्रेताकै निर्देशनमा रकम भुक्तानी गर्ने गरी नियुक्ति गरिएको पाइएकको छ।
त्यसैले रकम भुत्तानी पारदर्शी हुनेगरी अनुसन्धान गर्न निर्देशन दिने प्रतिवेदनमा उल्लेख छ।
समितिले सांसद दिपप्रकाश भट्टको संयोजकत्वमा उपसमिति गठन गरेको थियो। उपसमितिले खरिद प्रक्रियामा भ्रष्टाचार भएको औंल्याएपनि दोषी किटान गर्न सकेन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।