काठमाडौं– २०७६ जेठ ४ गते। दिउँसोको १२:४५।
स्थान: काठमाडौं जोरपाटीस्थित भीमेश्वरी सुनचाँदी पसल।
पसल सञ्चालक बुद्धराम सुनार एक्लै बसिरहेका हुन्छन्। एकाएक फटाफट युवाहरुको समूह पसलमा प्रवेश गर्छ। पहिरन र ज्यान हेर्दा खाइलाग्दो युवक देखेपछि सुनार ग्राहकझैं विश्वास गर्छन्। उनीहरु पनि सुन किन्न आएको बताउँछन्। सुनका विभिन्न गरगहनाका बारेमा पसले सुनारसँग सोधपुछ सुरु हुन्छ।
केही मिनेट सोधपुछ गरेपछि सटर छेउमै रहेका एक व्यक्तिले पसलको सटर लगाउँछन्। अर्का क्याप लगाएका व्यक्तिले झोलाबाट खुकुरी निकाल्छन् र पसलेलाई काट्न खोज्छन्।
त्यही मौकामा अर्का व्यक्तिले पसलको लकरमा रहेको रकम लुट्छन्। पसलेले कराउन लागेपछि लुटेरा समूहका काका उर्फ छिरिङले र्याकमाथि चढेर सुनारको दायाँ पाखुरामा खुकुरी प्रहार गर्छन्।
त्यसपछि सटर खोलेर लुटेरा समूह बाहिरिन्छ।
यसरी सुनारको सुनचाँदी पसले दिउँसै लुटिन्छ।
उक्त घटनाको उजुरी महानगरीय प्रहरी अपराध महाशाखामा पर्छ। प्रहरीले यस घटनालाई नजिकैबाट नियाले पनि भेउ पाउन सक्दैन। तर पसले सुनारले आफ्नो सिसी टिभी फुटेजमा उक्त घटनाको फुटेज रहेको बताएपछि प्रहरी अनुसनधानलाई थप मजबुत बनाउँछ। अनुसन्धानमा खटिएको टोलीलाई थप सहज हुन्छ।
उक्त सुनचाँदी पसल लुटिएको अघिल्लो दिन जेठ ३ गते बिहान पौने ११ बजे ललितपुर इमाडोलस्थित कृष्णमन्दिर नजिक रहेको सुरेशराज शर्माको असन इन्भेष्टमेन्ट प्रालिमा पनि लुटपाट हुन्छ। खुकुरीसहित उक्त कार्यालयमा पसेका उनीहरूले सबै कर्मचारीलाई नियन्त्रणमा लिएर १ लाख रुपैयाँ लुटेर फरार हुन्छन्।
हेर्नुस् भिडियो-
उक्त पसलमा पनि सोही समूहले लुटेको पछि प्रहरीले पत्ता लगाउँछ।
दिनदहाडै खुकुरी प्रहार गर्दै लुटको आतंक मच्चाउन थालेपछि प्रहरीले निगरानी बढाएको थियो। सोही क्रममा लुटेरा समूहका एक व्यक्ति धराने भनिने नितेश तामाङ इलाममा रहेको सुइँको पाएपछि प्रहरीले उनलाई इलामबाट पक्राउ गर्छ। पक्राउ परेका तिनै तामाङबाट सम्पूर्ण घटनको रहस्य खुल्छ। अन्य लुटेरा पनि पक्राउ पर्छन्।
प्रहरीको जुक्ति
तामाङ पक्राउ परेका जानकारी भने लुटेरा समूहलाई थाहा थिएन। तामाङकै सूचनाका आधारमा अन्य लुटेरा पक्राउ गर्ने जुक्ति निकालेको प्रहरीले अर्को जुक्ति निकाल्यो, तामाङलाई उनकै मोबाइलबाट अरु लुटेरासँग कुरा गर्न लगाउने।
प्रहरीको हिरासतमा रहेका लुटेरा तामाङलाई उनको समूहले फोन गर्दै भनेका थिए, ‘भोलिका लागि कोटेश्वरको एक सहकारी हेरेर आइसकेका छौं। त्यसपछि कालिमाटी प्रहरी अगाडिको आइएमईको पालो। दुवै ठाउँमा सजिलो छ।’
यही कुराकानीका आधारमा अन्य लुटेराहरु पक्राउ पर्छन्।
पक्राउ पर्नेमा तामाङसँगै रौतहटको चन्द्रनिगाहापुर–२ का २३ वर्षीय मुन्द्रे भनिने अजय वाइवा तामाङ, काभ्रको चौरीदेउराली गाउँपालिका–३ का २३ वर्षीय बाहुन भनिने रुपेश चौलागाई, मकवानपुरको शिखरपानी गाउँपालिका–८ का ३० वर्षीय जिग्री भनिने भिमराज थिङ र काका भनिने छिरिङ तामाङ छन्। सोही समूहका योगेन्द्र घिसिङ पनि पक्राउ परेका छन्।

तामाङलाई भने प्रहरीले दाहिने खुट्टामा २ राउन्ड गोली हानेर आज (शुक्रबार) अत्तरखेलबाट पक्राउ गरेको छ। तामाङको साथबाट म्याग्जिनमा लोड भएको ६ राउन्ड गोलीसहितको एक थान पेस्तोल प्रहरीले बरामद गरेको छ।
योगेन्द्र घिसिङ र काका भनिने छिरिङ तामाङ
उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उनको साथबाट ३५ हजार रुपैयाँसमेत बरामद भएको प्रहरीले जनाएको छ। उनी वैदेशिक रोजगारमा कतार गएर ५ महिनाअघि मात्रै फर्किएका थिए। लुटेको पैसाले नै उनीहरुले घरबार चलाउने गरेको पाइएको प्रहरीले जनाएको छ।
२ जना अझै फरार रहेको प्रहरीले जनाएको छ।
उनीहरु पक्राउ परेपछि भने धेरै वटा लुटपाटका घटनामा संलग्न भएको पाइएको प्रहरीले जनाएको छ। उनीहरुले कलंकीमा रहेको बहालवाला डिआइजी केदार रिजालको घरमा समेत लुटपाट गरेका थिए। डिआइजी रिजालको घरको तल्लो तलामा भाडामा लिएर आइएमई सञ्चालन भएको थियो। अनुजेन्द्र बस्नेतले सञ्चालन गरेको पिपुल्स मनी ट्रान्सफरमा गत भदौ २६ गते कर्मचारीलाई नियन्त्रणमा लिएर १ लाख ७० हजार लुटपाट भएको थियो।
त्यस्तै यही समूहले गत माघ १४ गते बिहान १० बजे चाबहिलस्थित रामप्रसाद तिवारीले सञ्चालन गरेको एग्रिमोर बचत तथा ऋण सहकारी संस्थामा लुटपाटको प्रयास गरेको थियो। ४ जनाको समूहमा उक्त सहकारीमा प्रवेश गरेका उनीहरूले कर्मचारीलाई नियन्त्रणमा लिएर लुट्ने प्रयास गरेका थिए। पछि असफल भएपछि फरार भए। उनीहरुले अन्य थुप्रै ठाउँमा लुटपाट मच्चाएको हुनसक्ने प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।