काठमाडौं– इंग्लिस प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीले जितको शृंखला जारी राखेको छ। लिगमा लगातार १६ खेलमा जित निकाल्ने क्रममा सिटीले शनिबार राति भएको खेलमा टोटनह्यामलाई ४–१ गोलले पराजित गरेको छ।
उत्कृष्ट लयमा रहेको सिटीका लागि गुन्डोगनले १४ मिनेटमा गोल गरेर सुरुवाती अग्रता दिलाए। ७० मिनेटमा सिटीले अग्रता दोब्बर पारेको थियो। केभिन डे ब्रुइनले २० यार्डबाट गोल गरेर अग्रता दोब्बर पारेका थिए।
अन्तिम १० मिनेटमा रहिम स्टर्लिङले २ गोल गरेपछि सिटीले सहज जित हात पारेको थियो। ८० मिनेटमा टोटनह्यामका एरिक डियरको गल्तिको फाइदा उठाउँदै स्टर्लिङले सिटीका लागि तेस्रो गोल गरेका थिए। खेलको अन्तिम मिनेटमा उनले सिटीका लागि चौथो गोल गरेका थिए। इन्जुरी टाइममा टोटनह्यामका क्रिस्टियन एरिक्सनले गरेको गोल सान्त्वनामै सीमित बन्यो।
लिगका अन्य खेलमा चेल्सीले साउथह्याम्टन र आर्सनलले न्युकासललाई समान १–० गोलले पराजित गरेका छन्। क्रिस्टल प्यालेसले लेस्टर सिटीलाई ३–०, हडर्सफिल्डले वाटफोर्डलाई ४–१ र वेस्ट ह्यामले स्टोकलाई ३–० ले पराजित गरेका छन्।
लिगको शीर्ष स्थानमा रहेको सिटीले १८ खेलबाट ५२ अंक जोड्दा दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडले एक खेल कम खेल्दै ३८ अंक बटुलेको छ। तेस्रो स्थानको चेल्सीको पनि ३८ अंक नै छ। चौथो स्थानको आर्सनलको ३३ तथा पाँचौ स्थानको वर्नलीको ३२ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।