काठमाडौं– काठमाडौं उपत्यकाका सुनचाँदी पसल, मनी एक्सचेन्ज, विभिन्न वित्तीय संस्थाहरूमा खुकुरी प्रहार गर्दै, मान्छेलाई नियन्त्रणमा लिएर लुटपाटको आतंक मच्चाउने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा खटिएको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनीहरूलाई काठमाडौं उपत्यका र इलामबाट पक्राउ गरेको हो।
पछिल्लो समय जेठ ४ गते दिउँसो १२ बजेर ४५ मिनेटमा काठमाडौं जोरपाटीस्थित बुद्धराम सुनारले सञ्चालन गरेको भिमश्वरी सुनचाँदी पसल लुटिएको थियो। ४/५ जनाको समूहमा खुकुरी र रड लिएर एक समूह उक्त पसलमा पुगेको थियो।
हतियारसहित उक्त पसलमा पुगेका उनीहरूले पसलवालालाई बोल्न कराउन नदिई कब्जामा लिएर काउन्टरमा भएको नगद ८० हजार लुटेका थिए। उनीहरूले पीडितलाई खुकुरी प्रहारसमेत गरेका थिए। त्यस्तै सोही गिरोहले अन्य मनी एक्सचेन्जमासमेत खुकरी देखाएँदै लुट्दै आएका थिए।
यसरी लुटपाट गर्ने गिरोहका सदस्यलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा इलामको माइजोकमाई गाउँपाकिला–६ का २४ वर्षीय धराने भनिने नितेश तामाङ, रौतहटको चन्द्रनिगाहापुर–२ का २३ वर्षीय मुन्द्रे भनिने अजय वाइवा तामाङ, काभ्रको चौंरीदेउराली गाउँपालिका–३ का २३ वर्षीय बाहुन भनिने रुपेश चौलागाईं र मकवानपुरको शिखरपानी गाउँपालिका–८ का ३० वर्षीय जिग्री भनिने भिमराज थिङ पक्राउ परेको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए।
उनीहरू मध्ये धराने भनिने नितेशलाई प्रहरीले इलामबाट पक्राउ गरेका हो भने अन्य काठमाडौंबाट पक्राउ परेका हुन्। उनीहरूको साथबाट १ हजार र विभिन्न कम्पनीको ४ थान मोबाइल बरामद भएको छ।
पक्राउ परेका उनीहरूलाई कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद २० को दफा २२४ को डाँका गर्न नहुने कसुरमा अनुसन्धान सुरु गरिएको छ।
उक्त दफाको उपदफा २ अनुसार खण्ड (क) बमोजिम ७ वर्षदेखि १४ वर्षसम्म कैद र ७० हजारदेखि १ लाख ४० हजारसम्म जरिवाना हुने व्यवस्था छ।
त्यस्तै मुलुकी अपराध संहिता ऐन २०७४को परिच्छेद १२ को दफा १८३ अनुसार ज्यान मार्ने उद्योगमा पनि प्रहरीले मुद्दा चलाएको छ। उक्त कसुरमा १० वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।
यस्तो छ उनीहरूको लुट श्रृंखला
–जेठ ४ गते जोरपाटीस्थित बुद्धराज सुनारको सुनचाँदी पसलबाट ८० हजार लुटपाट
–जेठ ३ गते बिहान पौने ११ बजे ललितपुर इमाडोलस्थित कृष्णमन्दिर नजिक रहेको सुरेशराज शर्माको असन इन्भेष्टमेन्ट प्रालिमा लुटपाट। खुकुरीसहित उक्त कार्यालयमा पसेका उनीहरूले सबै कर्मचारीलाई नियन्त्रणमा लिएर १ लाख रुपैयाँ लुटेका थिए।
–गत चैत २६ गते बिहान सवा ११ बजे गोकर्णेश्वर नगरपालिका–५ स्थित रवि श्रेष्ठले सञ्चालन गरेका पाथिभरा मनी ट्रान्सफर लुटपाट। खुकुरी लिएर प्रवेश गरी मनी ट्रान्सफरका कर्मचारीको मुखमा टेप लगाएर ३ लाख ५० हजार लुटपाट।
– गत माघ १४ गते बिहान १० बजे चाबहिलस्थित रामप्रसाद तिवारीले सञ्चालन गरेको एग्रिमोर बचत तथा ऋण सहकारी संस्थामा लुटपाटको प्रयास। ४ जनाको समूहमा उक्त सहकारीमा प्रवेश गरेका उनीहरूले कर्मचारीलाई नियन्त्रणमा लिएर लुट्ने प्रयास गरेका थिए। पछि असफल भएपछि फरार।
–गत भदौ २६ गते कलंकीस्थित अनुजेन्द्र बस्नेतले सञ्चालन गरेको पिपुल्स मनि ट्रान्सफरमा प्रवेश गरेर कर्मचारीलाई नियन्त्रणमा लिएर १ लाख ७० हजार लुटपाट गरी फरार।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।