धनगढी- कैलाली र कञ्चनपुरमा बिहीबार साँझ आएको हावाहुरीसहितको वर्षाले पुर्याएको क्षतिको लगत संकलन कार्य जारी छ। कैलालीका टिकापुर र गोदावरी नगरपालिका तथा कञ्चनपुरका बेदकोट र भीमदत्त नगरपालिकामा बढी क्षति पुगेको सम्बन्धित जिल्लाका दैवी प्रकोप राहत तथा उद्दार समितिले जनाएका छन्।
कैलाली जिल्ला दैवी प्रकोप राहत तथा उद्दार समितिका प्रमुख एवम् प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराका अनुसार कैलालीमा हावाहुरीका कारण अहिलेसम्म २ जनाको मृत्यु भएको छ भने ७७ जना घाइते भएका छन्।
मृत्यु हुनेमा कैलालीको टिकापुर नगरपालिका-२, राजीपुरकी ४७ वर्षीया लाहानु चौधरी छिन्। उनको कुखुराको खोर भत्किँदा च्यापिएर मृत्यु भएको थियो। यस्तै कैलालीकै गोदावरी नगरपालिका–८ मा हावाहुरीको समयमा बा३प ३८३६ नम्बरको टिपरसँग से२१प ५८२१ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक सोही ठाउँका वीरबहादुर चौधरीको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश डाँगीले बताए।

प्रजिअ बोहराले बिहानसम्ममा उद्धारको काम सकिएको र क्षतिको लगत संकलन सुरु गरिएको जानकारी दिए।
‘उद्दारको काम लगभग सकिएको छ। क्षतिको विवरण संकलन भइरहेको छ’, उनले भने, 'पछिल्लो जानकारी अनुसार सेती अञ्चल अस्पतालसहित जिल्लाका विभिन्न अस्पतालमा भर्ना भएका ७७ जना घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ। ६६ जनालाई सामान्य उपचारपछि घर पठाइएको र अन्यको उपचार विभिन्न अस्पतालमा भइरहेको छ।'
प्रजिअ बोहराले अहिले अवरुद्ध सडकहरु खुलाउने काम पनि भइरहेको बताए। उनले भने, ‘मुख्य राजमार्ग अवरुद्ध भएका छैनन्। शाखा सडकहरुमा रुख ढल्दा सवारी अवरुद्ध भएकाले खुलाउने काम भइरहेको छ।’
उनले धेरै घरहरुका छाना उडाएका तथा कतिपय स्थानमा भने घर नै ढलाएको पनि जानकारी दिए। ‘बढी जनघनत्व भएका ठाउँमा क्षति बढी भएको छ। कसैका घरका छाना उडेका छन् भने कसैका पर्खाल र घरसमेत भत्किएका छन्। त्यो विवरण संकलन गर्ने काम भइरहेको छ,’ उनले भने।
उता, कचनपुरमा घाइते भएका २३ मध्ये ८ जनालाई सेती अञ्चल अस्पताल रिफर गरिएको कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए। उनका अनुसार ८ घाइतेमध्ये ११ वर्षीया बालिकाको अवस्था चिन्ताजनक छ। उनको टाउकोमा चोट लागेको छ।

उनले कञ्चनपुरमा सडक आवागमन अवरुद्ध नभएको जानकारी दिए। निमित्त प्रजिअ उपाध्यायले भने, ‘सवारी आवागमनमा अवरोध पुगेको छैन। रुख तथा बिजुलीका पोलहरु ढल्दा विद्युत सेवा भने अवरुद्ध भएको छ। हावाहुरीका कारण भएको क्षतिको विवरण संकलन गरिंदैछ।’
उनले हावाहुरीका कारण बेदकोट नगरपालिकामा बढी क्षति भएको अनुमान गरिएको बताए।
चट्याङका कारण एक घाइते
घोडाघोडीमा चट्याङ लागेर अर्का एक जना पनि गम्भीर घाइते भएका छन्। कैलाली प्रहरी प्रमुख सुदिप गिरीले सो घटनाको पुष्टि गर्दै घाइते हुनेमा घोडाघोडी नगरपालिका-३, जुरपानीकी १७ वर्षिया जानुका चौधरी रहेको बताए।
चौधरीको अवस्था गम्भीर रहेको र घोडाघोडी अस्पतालमा उपचार भइरहेको गिरीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।