नयाँ दिल्ली- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालको जिम्मेवारी लिएपछि पहिलो विदेश भ्रमण माल्दिभ्समा गर्ने भएका छन्।
उनले यही जुन ८ तारिख (शनिबार)का दिन माल्दिभ्सको र त्यसपछि थप एक दिन श्रीलङ्काको भ्रमण गर्ने बताइएको छ। एक दिने माल्दिभ्स भ्रमणका क्रममा उनले जुन ८ तारिखकै दिन माल्दिभ्सको संसदमा पनि सम्वोधन गर्ने कार्यक्रम तय भएको छ।
भारतका विदेश सचिव विजय गोखलेले बिहीबार दिएको जानकारीअनुसार प्रधानमन्त्री मोदी शनिबार नै श्रीलङ्का गएर आइतबारसम्म त्यहाँ रहने कार्यक्रम छ।
गत अप्रिल २१ तारिखका दिन बम आक्रमणमा परी ठूलो जनधनको क्षति भएपछि श्रीलङ्का भ्रमण गर्ने विदेशी नेतामा मोदी पहिलो हुने भएका छन्। उनको यो भ्रमणलाई श्रीलङ्काको दुःखमा साथ दिएको सन्देशका रूपमा व्याख्या गरिएको छ।
आक्रमणका कारण दुःख र शोकाकुल अवस्थामा रहेको श्रीलङ्का र त्यहाँका जनतालाई भारतको तर्फबाट सहयोग र साथ रहने विश्वास भ्रमणका क्रममा दिलाइने विदेश सचिव गोखलेले बताए।
प्रधानमन्त्रीका रुपमा मोदीले पहिलो पटक माल्दिभ्सको भ्रमण गर्न लागेकाे बताइएको छ। यसअघि भारतका प्रधानमन्त्री डा मनमोहन सिंहले सन् २०११ मा माल्दिभ्सको भ्रमण गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।