कैलालीमा विनाशकारी हावाहुरी : घाइतेको उपचार विभिन्न अस्पतालमा सुरु

नेपाल लाइभ | २०७६ जेठ २३ बिहीबार | Thursday, June 06, 2019 २२:२६:०० मा प्रकाशित

कैलाली- कैलाली र कञ्चनपुरमा आएको विनाशकारी हावाहुरीका कारण घाइतेलाई कैलालीका विभिन्न अस्पतालमा पुर्‍याउने क्रम जारी छ। कम्तीमा १५ जना घाइते अस्पताल पुगेको प्रहरीले जानकारी दिएको छ। 

घाइतेहरुलाई धनगढीका विभिन्न अस्पलात पुर्‍याउने क्रम जारी रहेको नेपाल लाइभका धनगढी सहकर्मी शेरबहादुर ऐरले जानकारी दिएका छन्। धनगढीमा हावाहुरीका कारण घाइते भएका १० जना अस्पताल पुगिसेकेको उनले बताए। घाइतेहरुको धनगढीस्थित सेती अञ्चल अस्पताल, माया मेट्रो र निसर्ग अस्पतालमा उपचार सुरु भएको छ। 

उता कैलालीकै टीकापुर नगरपालिकामा घाइते भएका ४ जनालाई उपचार गर्न अस्पताल पुर्याउने क्रम जारी रहेको प्रहरीले बताएको छ।

हावाहुरी घरका छानोको टिन उडाएको छ। तस्बिरः शेरबहादुर ऐर

कैलाली र कञ्चनपुरमा हावाहुरीका कारण धेरै नै क्षति भएको तर मानवीय क्षतिको विवरण भने आइनसकेको कैलाली प्रहरीका एसपी सुदीप गिरीले बताए। 

हावाहुरीका कारण बिजुलीका पोल ढलेको, बाटो अवरुद्ध भएको, घरका छानो उडाएको, गाडी थिचेको जताततै देखिएको र अहिले घाइतेको उद्धारको काम भइरहेको उनले जानकारी दिए। 

धनगढी उपमहानगरको ढुंगेबजार क्षेत्र हावाहुरीबाट बढी प्रभावित भएको समेत उनले जानकारी दिए। बिजुलीका पोल ढलेका कारण विद्युत सेवा समेत अवरुद्ध भएकाले उद्धारमा कठिनाइ भएको एसपी गिरीले उल्लेख गरे। 

घटनाको पूर्ण विवरण आउन बाँकी छ।