काठमाडौं– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले बिहीबार बलियो प्रतिद्वन्दी चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार पौने ५ बजे सुरु हुने छ।
गत आइतबार भएको मैत्रीपूर्ण खेलमा नेपाललाई मलेसियाले २–० गोलले पराजित गरेको थियो।
खेलअघि नेपालका प्रशिक्षक योहान कालिनले बलियो टिमविरुद्ध प्रतिस्पर्धा गर्न तयार भएको बताएका छन्। उनले खेल कठीन हुने बताउँदै नेपाली युवा टिमको क्षमता परीक्षण हुने बताएका छन्।
फिफा वरीयतामा ताइपेई १ सय २५ स्थानमा छ भने नेपाल १ सय ६१ औं स्थानमा छ।
नेपालले मैत्रीपूर्ण खेललाई विश्वकप छनोट र एसिया कप छनोटको तयारीको रुपमा लिएको छ।
फिफा वरियताको आधारमा नेपाल सिधै दोस्रो चरणमा पुगेको थियो। दोस्रो चरण आगामी सेप्टेम्बरदेखि हुँदैछ।
फिफा वरियतामा १६१ औं स्थानमा रहेको नेपाल अप्रिल महिनाको वरियताको आधारमा दोस्रो चरणमा पुगेको थियो।
विश्वकपको पहिलो चरणमा एसियन वरियतामा ३५ देखि ४६ औं वरियतामा पर्ने १२ टिमले प्रतिस्पर्धा गर्ने प्रावधान छ। होम एण्ड अवेको आधारमा हुने पहिलो चरणको विजेता ६ टिम दोस्रो चरणमा प्रवेश गर्नेछ।
नेपाल एसिया वरीयताको ३४औं स्थानमा रहँदै दोस्रो चरणमा पुगेको थियो।
दोस्रो चरणमा एसिया वरियताको शीर्ष ३४ र पहिलो चरणबाट छनोट भएर आउने ६ टिम गरी ४० टिमले प्रतिस्पर्धा गर्नेछन्।
४० राष्ट्रलाई ८ समूहमा विभाजन गरिने दोस्रो चरणमा प्रत्येक समूहमा पाँच टिम हुनेछन्। होम एण्ड अवेको आधारमा हुने प्रतियोगितामा समूह विजेता आठ टिम र उत्कृष्ट समूह उपविजेता गरी १२ टिम विश्वकप छनोटको तेस्रो चरणमा प्रवेश गर्नेछ। त्यस्तै, यही १२ टिमले एसिया कप खेल्नेछन्।
नेपाली टिम
गोलकिपर– किरण चेमजोङ, एलन न्यौपाने, विकेश कुथु
डिफेन्डर- विराज महर्जन, सरोज दाहाल, रजिन धिमाल, सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी, देवेन्द्र तामाङ, रवि सिलवाल
मिडफिल्डर/फरवार्ड- सुनील बल, रवि पासवान, सुजल श्रेष्ठ, विशाल राई, रोहित चन्द, विक्रम लामा, सन्तोस तामाङ, तेज तामाङ, विमल राना, नवयुग श्रेष्ठ, अभिषेक रिजाल, अन्जन विष्ट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।