काठमाडौं– नेपाल प्रहरी क्लबकाद्वय कमल श्रेष्ठ र पार्वती गुरुङले आठौं कोरियन एम्बासडर राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् ।
सिनियर एकल पुम्सेको २९ वर्षमुनि पुरुषमा कमल र महिलामा पार्वतीले फाइनलमा क्रमशः जितबहादुर भोटे र नितालाई पराजित गरे । पराजित दुवै पनि प्रहरीका हुन्
नेपाल तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगिताको ३० वर्षमाथि सिनियर पुरुष एकल पुम्सेमा नेपाल आर्मीका रेजिन रिमाल पहिलो भए । उनले प्रहरीका जग्दीशसिंह पालीलाई पराजित गरे । सोही स्पर्धाको महिलामा पोखराकी रेकमाया गुरुङ पहिलो भइन् । रेकमायाले आर्मीकी मिरा काफ्लेलाई पछि पारिन् ।
जुनियर पेयर पुम्सेका पुरुषमा स्युचाटारका अस्मिन राउत र विनिता तामाङ पहिलो तथा जेसिजका नवीन श्रेष्ठ र मोनिका मगर दोश्रो भए । सोही स्पर्धाको सिनियर पुरुषमा प्रहरीका कमल श्रेष्ठ र पार्वती गुरुङले स्वर्ण तथा आर्मीका सन्जिव ओझा र निता गुरुङले रजत जिते ।
टिम पुम्सेको पुरुषमा प्रहरीका प्रेमबहादुर लिम्बू, कमल श्रेष्ठ र जितबहादुर भोटे तथा महिलामा पनि प्रहरीका मिरा राना मगर, निर्मला विक र पार्वती गुरुङले शीर्ष स्थान हात पारे ।
सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीको हलमा भइरहेको प्रतियोगिताको १४ वर्षमुनि पुरुष एकल पुम्सेमा ललितपुरका युकिन चौधरी पहिलो र कोटेश्वरका सोहन श्रेष्ठ दोश्रो भए । त्यसै स्पर्धाको महिलामा आर्मीकी रिता श्रेष्ठ पहिलो र स्युचाटारकी मोनिका रम्तेल दोश्रो बने ।
पुरुष एकल पुम्सेका १७ वर्षमुनि जेसिजका नवीन श्रेष्ठ र स्युचाटारका अस्मिन राउत क्रमशः पहिलो र दोश्रो भए । उक्त स्पर्धाको महिलामा स्युचाटारकी नोमिता मोक्तानले स्वर्ण तथा आर्मीकी रोशनी श्रेष्ठले रजत हात पारे ।
जुनियर पुरुष ४२ केजी तौलसमूहमा कोटेश्वरका श्रीकृष्ण कार्की र सीतापाइलाका बिधान श्रेष्ठ फाइनलमा प्रवेश गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।