काठमाडौं- चीनका राष्ट्रपति सी चिनपिङले बुधबार मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन्।
भेटमा सीले चीन-रूस सम्बन्ध बलियो बनाउन इतिहास र दुवै पक्षको दृढ रणनीति छनोट भएको बताए। उनले दुवै पक्षले रणनैतिक आदान-प्रदान र सहयोगलाई सबल पार्ने र आपसी मुख्य हितका मामिलामा समर्थन बढाउने बताए।
उनले दुवै मुलुकले आर्थिक र व्यापारिक सहयोग चौतर्फी रुपमा बढाउने, रणनीतिक ठूला परियोजना र उदियमान क्षेत्रको सहयोगलाई सबल पार्ने, आर्थिक तथा व्यापारिक, लगानी, ऊर्जा श्रोत, प्राविधिक, हवाई अन्तरिक्ष आदि क्षेत्रमा सहयोगलाई सुदृढ पार्नुपर्ने आवश्यकता रहेको औंल्याए।
उता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले चीनमा तेल र ग्याँस ऊर्जाको आपूर्ति, ठूला भटमासजस्ता कृषि उत्पादनहरूको निर्यात बढाउने प्रतिवद्धता व्यक्त गरे। उनले युरोप-एसियाली आर्थिक संघ र बेल्ट एन रोड इनिसिएटिभ(बिआरई) बीचको सहयोगलाई तीव्र बनाउने समेत बताए।

दुई नेताले नयाँ युगमा चीन र रूसबीच चौतर्फी रणनैतिक साझेदारी सम्बन्ध विकास गर्ने संयुक्त वक्तव्यमा हस्ताक्षर पनि गरेका छन्।
त्यस्तै, अन्तर्राष्ट्रिय मामिलामा चीन र रूसले थप योगदान गर्ने भएका छन्। यस वर्ष चीन र रूसले दौंत्य सम्बन्ध स्थापना भएको ७०औं वार्षिकोत्सव मनाएका छन्। भेटमा चीनले रूससँग मिलेर दुई देशका जनतालाई अरू फाइदा पुर्याउनुका साथै अन्तर्राष्ट्रिय मामिलामा अरू योगदान गर्ने इच्छा लिएको सीले भनाइ राखेका थिए।
प्रत्युत्तरमा पुटिनले सीको भ्रमण दुई देशबीचको सम्बन्धको लागि निकै महत्वपूर्ण भएको बताएका थिए। उनले दुवै पक्षको साझा प्रयासमा चीन-रूस सम्बन्ध इतिहासको सबैभन्दा उचाइमा पुगेर दुई देशका जनतालाई व्यवहारिक फाइदा पुर्याएको उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।