काठमाडौं- प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ५ विकेटले हराएर पुलिसले फाइनलमा स्थान पक्का गरेको हो।
टस जितेको पुलिसले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको एपिएप २२.१ ओभरमा ४१ रनको झिनो योगफलमा आउट भयो। यो योगफल प्रधानमन्त्री कपकै कम हो। यसअघिको कम स्कोर कर्णाली प्रदेशको थियो। उसले प्रदेश १ विरुद्ध ४७ रन मात्र बनाउन सकेको थियो।
एपिएफलाई कम योगफलमा समेट्ने क्रममा पुलिसका ललितनारायण राजवंशीले ४ विकेट लिए। राजवंशीले ६ ओभरमा ८ रन थए। कुशल भुर्तेल र सागर ढकालको नाममा ३-३ विकेट रह्यो। कुशलले ५ ओभरमा १ मेडन राख्दा ७ रन मात्र दिए। सागरले ८.१ ओभरमा ३ मेडन राख्दा १५ रन खर्चिए। एपिएफका लागि कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्। एपिएफले कुल ४ चौका मात्र हिर्काउन सक्यो।
४२ रनको लक्ष्य पुलिसले ९.३ ओभरमा ५ विकेटको क्षतिमा पार गर्यो। पुलिसका लागि पवन सर्राफले नटआउट २१ रन र दीपेन्द्रसिंह ऐरीले १३ रन जोडे। ओपनर सुनील धमला ३ रनमा आउट हुँदा उनका ओपनिङ पार्टनर अनिलकुमार साहले खाता नै खोल्न सकेनन्। दीलिप नाथ २ रन र अमित श्रेष्ठ १ रनमा आउट हुँदा पुलिसले ७ ओभरमा २३ रन जोड्दा ५ विकेट गुमाएको थियो। यद्यपी पवनले १० ओभरमा लगातार तीन चौका हिर्काएर टिमलाई जिताए।
बलिङमा एपिएफका बसन्त रेग्मीले ३ विकेट र शरद भेषवाकरले २ विकेट हात पारे।
अब उपाधिका लागि पुलिस र आर्मीबीच शनिबार प्रतिस्पर्धा हुनेछ।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।