कायरो- इजिप्टभर इद उलफित्र पर्व मनाइरहेका बेला बुधबार लडाकुहरूको आक्रमणमा परी ८ प्रहरी मारिएका छन्।
सिनाई प्रान्तमा रहेको प्रहरी कार्यालयमा भएको आक्रमणमा परी उनीहरू मारिएको अधिकारीहरूले जानकारी दिएका छन्।
घटना भएको उत्तरपूर्वी क्षेत्रमा लामो समयदेखि विभिन्न लडाकु समूहले आक्रमण गर्दै आएका छन्। आक्रमणकारीमध्ये केही समूह इस्लामिक स्टेट (आइएस) लडाकु समूहसँग आवद्ध रहेको पनि बताइएको छ।
'आज बिहानै आतङ्कवादी तत्वहरूले प्रहरी कार्यालयलाई लक्षित गरेर आक्रमण गरेका हुन्,' गृह मन्त्रालयका एक अधिकारीले भने।
आक्रमणकारीहरूले गोली प्रहार सुरु गरेपछि भएको दोहोरो गोली हानाहानका क्रममा आक्रमणकारी तर्फका ५ जना र प्रहरी तर्फका ८ जना मारिएको मन्त्रालयले जनाएको छ। घटनास्थलबाट केही लडाकुहरू भागेको र सुरक्षाकर्मीहरूले उनीहरूको खोजी गरिरहेको मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख छ।
घटनामा परी घाइते भएका सुरक्षाकर्मीतर्फका ३ जनालाई भने उपचारका लागि अस्पताल लगिएको छ। चिकित्सकहरूले मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने बताएका छन्।
सिनाई प्रान्तको प्रान्तीय राजधनी एल अरिस नजिकै रहेको प्रहरी कार्यालयमा भिडन्त भएको अधिकारीहरूले जनाएका छन्। अहिले भने आक्रमण भएको सो कार्यालय सेना र प्रहरीको टोलीले घेरेर राखेको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।