काठमाडौं- आइसिसी विश्वकप क्रिकेट प्रतियोगितामा भारतले विजयी सुरुवात गरेको छ। बुधबार अबेर राति साउथह्याम्टनमा सकिएको खेलमा भारतले दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको हो।
टस जितेको दक्षिण अफ्रिकाले पहिले ब्याटिङ गर्दै ५० ओभरमा ९ विकेटको क्षतिमा २२७ रन जोड्यो। उसका लागि कप्तान फाप डु प्लेसिसले ३८ रन जोडे भने क्रिस मोरिसले ४२ रन जोड्न सके। बलिङमा भारतका युजभेन्द्र चाहालले ४ विकेट लिए। भुवनेश्वर कुमार र जसप्रित बुमराहको नाममा २-२ विकेट रह्यो।
२२८ रनको लक्ष्य भारतले ४७.३ ओभरमा ४ विकेटको क्षतिमा पार गर्यो। उसका लागि ओपनिङ ब्याट्सम्यान रोहित शर्माले नटआउट १२२ रन जोडे। उनले १४४ बलमा १३ चौका र २ छक्का हिर्काए। अर्का ओपनर शिखर धवन ८ रनमा आउट हुँदा कप्तान विराट कोहलीले १८ रन बटुले। लोकेश राहुलले २६ र महेन्द्रसिंह धोनीले ३४ रन बनाए। हार्दिक पाण्ड्याले नटआउट १५ रन जोडे। बलिङमा दक्षिण अफ्रिकाका कागिसो राबाडाले २ विकेट लिए।
जारी विश्वकपमा भारतकोले पहिलो खेलमा जित हात पारेको हो भने दक्षिण अफ्रिका लगातार तीन खेलमा पराजित भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।