पाँचथर, राँके- करिब ६ दशकअघि तेह्रथुमको सिम्लेमा जन्मेका योगवीरको पुर्ख्यौली पेसा आरनमा काम गर्ने थियो। योगवीरले त्यसैलाई निरन्तरता दिनु बाध्यात्मक परिस्थिति थियो। एक दशक उमेर पार नगर्दै योगवीर आरनसँग खेल्न थाले। यसैमा परिचित बने।
आरनसँग उनको खेल आजसम्म उतिकै चलिरहेको छ। पाँच दशक आफ्नै जन्मथलोमा फलामे औजारमा ‘पाइन’ लगाएका योगवीर वर्तमानमा जन्मथलोभन्दा केही टाढा छन्। तर, नित्यकर्म उस्तै छन्। जन्मेका चार भाइ छोराले पुर्ख्यौली पेशा अंगालेनन्। उनीहरु बेँसी झरे।
गाँउमा उनी जेनतेन गरी श्रीमतीसँगै दैनिकी घचेटिरहेका थिए। दुर्भाग्य, अर्धाङ्नीको मृत्यु भयो। एक्लो जीवन निरस हुँदै गयो। आफन्त भन्ने जति कोही त्यहाँ रहेनन्। विरक्त जीवनलाई त्राण दिन उनी पाँचथर पुगे। दुई दिनको पैदल हिँडाइपछि उनी यहाँ आइपुगेका हुन्।
इलामबजार र पाँचथरको सिमाना हो राँकेबजार। योगवीरको आरन इलामसँग सिमाना जोडिएको पाँचथरको फाल्गुनन्द गाँउपालिकामा पर्छ। राँकेको मुख्य चोक पार गरी फिदिम लाग्दैगर्दा पाँच सय मिटर पार गरेपछि घाम र पानीबाट बच्न सकिने टहरो छ। मूलबाटोसँगै जोडिएको टहरोको पछाडीपट्टि योगवीरको टङटङ बिहानको ४ बजेदेखि साँझ आठ बजेसम्म निरन्तर जारी रहन्छ।
आरन साँघुरो स्थानमा छ। आरनको डिलबाट भीर सुरु हुन्छ।
तीन/चार जना उनका सेवाग्राही बिहानी प्रहरमा आरनको डिलसम्म आइसकेका छन्। दर्जन बढी उनका ग्राहक भए भने बस्न ठाँउ पुग्दैन। यसै स्थानमा योगवीरको नित्यकर्म सदाझैं जारी छ।
शीरको ढाकाटोपी उनको कपालको रौंसरह कालो भएको छ। बुढ्यौलीले गाला मुजा परेका छन्। आरनको कालोसँग भिड्दा हातखुट्टामा गहुँगोरोपन भेट्न मुस्किल छ। दौरा सुरुवालको ओरजिनल रंग उडिसकेको छ। केही थान औजारसँगै काठको बिँड बनाउन उनी तल्लीन छन्। एकसरो कपडाले पानी देख्न नपाएको महिनौं भयो।
जीविकोपार्जन गर्न धौधौ भएका उनलाई स्वास्थसम्बन्धी काम गर्ने फुर्सद र चासो कम छ। आराम समय पनि छैन उनलाई। योगवीरले एक दिन काम छोडे भने उनको मनमा हैरानी पैदा हुन्छ। मनको हैरानी जीविकोपार्जनसँग जोडिएको छ।
कोइलामा हावा भर्दैगर्दा धुवाँ उडिरहको थियो। उडेको धुलो हावाले उनकै अनुहारतिर फर्काउँथ्यो। सम्पत्ति भन्नु यही आरन हो। उनलाई यही आरनको बिछट्टै माया छ। बिहान चार बजेदेखि आरन धाउँछन्। मुस्किलले ५ सय रुपैयाँ जोहो गर्छन्। अनि अबेर राती कोल्टे पर्छन्। एक निद्रामा बिहान भइसक्छ। ‘सकेसम्म ४ बजे नै आरनमा आउँछु,’ उनले सुनाए। उठ्न सकेनन् भने उनको चार बजे अलि पर घचेट्छन्।
जन्मथलोमा योगवीरले गरेको आरनमा बालीप्रथा थियो। राँकेमा झरेपछि बालीप्रथाबाट मुक्ति पाएका छन्। तर दुःख उस्तै छ। गरिबी दुर गर्न राँके आएका उनलाई अर्थले सोचेजस्तो साथ दिएन। गरिबी उनको अनन्य मित्र बनिदियो। गरिबीसँग दुख उनका आफन्त बनेका छन्। हँसिया, बञ्चरो, खुकुरी, कच्चियाले साथ छोड्न मान्दैनन्। आफन्तले छोडे, दुःख र गरिबीले छोड्न मानेनन्।
यस बीचमा उनले फलामलाई रुपान्तरण गरी अनेकौं औजार बनाए। फलामको रुप परिवर्तन गरिदिए। फलामको जीवनलाई रुपान्तरण गर्ने योगवीरले आफ्नै जीवन भने रुपान्तरण गर्न सकेनन्। अनेकौं औजारमा ‘धार’ लगाए। तर आफ्नै जिन्दगीको धार बदल्नै सकेनन्। फलामलाई उनले वर्षौ, थिचे। उनलाई भाग्यले उस्तै गरी थिचिरह्यो। आजसम्म पनि थिचेको थिच्यै छ।
‘युगल जोडी’ मा बज्रपातको सुरुवात प्रारम्भमा श्रीमती बिरामी भएपछि सुरु भयो। शरीर सुन्निने रोगबाट योगवीरकी श्रीमती सिकिस्त बनिन्। उपचारका लागि पूर्वाञ्चलमा नाम चलेका सबै अस्पताल पुर्याए। तर, निको भइनन्। उपल्लो स्तरका अस्पताल पुर्याउन आर्थिक जोहोले साथ दिएन। घरकै पिँढीमा उनको देहान्त भयो। तितो विगत सम्झदै योगवीरले भने, ‘श्रीमतीले छाडेर गई। छोराहरु साथमा भएनन्। त्यही स्थानमा बस्न मन लागेन।’ उनले थपे, ‘छोराहरु झापा-इलाम झरे। कुनै भारततिर लागे।’
एक्लो शरीरसहित राँकेमा दुःखजिलो गरेका योगवीरले पाँचथर र इलामका सर्वसाधारणका औजारमा ‘पाइन’ लगाएर गुन लगाएका छन्। उनको आरनमा पौवा, चौमता, चपेटासम्मका सर्वसाधारण आइपुग्छन्। जन्मथलोमा उनलाई कोइलाको समस्या थिएन। तर, यहाँ किन्नुपर्छ। उनले सुनाए, ‘कोइला किन्नुपर्दा कमाइ घट्छ।’
एक बोरा कोइलाले उनको व्यवसायमा एक दिन मात्र धान्छ। आरन रहेको स्थानलाई उनले मासिक पाँच सय भाडा बापत तिर्नुपर्छ। फलाम किन्नुपर्छ। ग्राहकले उनलाई कामअनुसारको पारिश्रमिक उपलब्ध गराउँछन्। बढ्दो महँगीलाई ग्राहकले दिएको पारिश्रमिक उनको लागि न्यून हुन्छ। गर्जो टार्न उनलाई धौधौ छ।
दिनभर फलाम र धुलोसँग खेलिरहेका उनलाई साँझ खानामा मासु पनि भइदिए हुन्थ्यो भन्ने लाग्छ। भान्सामा मासु पनि पाक्छ त? उनले हाँसो मिश्रित बोलीमा भने, ‘मासु खानलाई पैसा कहाँ पुग्नु?’ सादा खानालाई उनले छाकको ८० रुपैयाँ तिर्छन्।
योगवीरका छोरा पुस्ताले नसम्हालेको आरन नाति पुस्ताले निरन्तरता दिने सम्भवना रहेन। अन्तिममा योगविरले सुनाए, ‘अब जन्मेकाले आरन देख्नै पाउँदैनन्।’
आरनका योगवीरले साँच्चिकै नाम अनुसारकै काम गरेका छन्। आरनका औजार र धुलोधुवाँसँग खेल्नु 'योग' हो उनको। यसमा अब्बल छन्। तर 'लक्ष्मी'ले लामो समय साथ दिँदिनन्। 'कुबेर' तर्केर हिँड्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।