 फाइल तस्बिर
                                        
                                            फाइल तस्बिर
                                        
                                    
                                                             
                            
                            काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ । 
महाधिवेशनका बिषयमा आन्तरिक विवाद भएपछि छलफलका लागि भन्दै आइतबारसम्म बैठक स्थगित गरिएको हो । शुक्रबार नै महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग छलफल गरेका थिए । 
तर महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्ने बिषयमा सहमति नभएपछि बैठक स्थगित भएको हो । कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले कार्यवाहक सभापतिको प्रस्तावमा बैठक स्थगित गरिएको जानकारी दिए ।
छलफल गरेर समझदारी गर्ने प्रयासका लागि आन्तरिक छलफल जारी रहने उनले बताए । प्रवक्ता महतले बिहीबारको बैठकमा महामन्त्री अनुपस्थित भएकाले सवैको सहभागीतामा निष्कर्ष निकाल्ने प्रयास गरिने उल्लेख गरे । महाधिवशेनको विषयलाई विवादको विषय भन्दा पनि क्रियाशील सदस्यहरुको सहभागिताका साथ सम्पन्न गर्ने चाहना रहेको उनको भनाइ छ । 
उनले महाधिवेशनका विषयमा आएका विभिन्न दृष्टिकोणलाई एकैठाँउमा ल्याउने प्रयास भइरहेको जिकिर गरे । कांग्रेसभित्र विशेष महाधिवेशन वा निर्वाचन अघि नै पार्टीको महाधिवेशन गर्ने वा नगर्ने भन्नेबारे विवाद छ ।
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।