काठमाडौं– प्रदेश ३ लाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। आर्मीले बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा प्रदेश ३ लाई ११७ रनले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो।
टस जितेको प्रदेश ३ ले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको त्रिभुवन आर्मी क्लबले ६ विकेटको क्षतिमा ३०९ रन जोड्यो। उसका लागि कप्तान विनोद भण्डारीले नटआउट ७५ रन जोडे। उनले ४२ बलमा ५ चौका र ५ छक्का हिर्काए। कुशल मल्लले नटआउट २६ रन जोडे। र्नले १७ बलमा १ चौका र २ छक्का हिर्काएका थिए। करण केसी २१ रनमा आउट हादा राजेश पुलामी मगरले २९ रन बटुले। राजु रिजालले ५१ रन र हरिबहादुर चौहानले ३८ रनको योगदान दिए। बलिङमा प्रदेश ३ का नन्दन यादव र जितेन्द्रसिंह ठकुरीले २–२ विकेट हात पारे। कप्तान पारस खड्का र सोनु देवकोटाको नाममा १–१ विकेट रह्यो।
३१० रनको लक्ष्य पछ्याएको प्रदेश ३ ले ५० ओभर खेल्दा ९ विकेटको क्षतिमा १९२ रन मात्र जोड्न सक्यो।
प्रदेश ३ का लागि इशान पाण्डेले ७९ रन जोडे। उनले ११७ बलमा ३ चौका र ४ छक्का हिर्काए। त्यसअघि ओपनरद्वय रित गौतम ५ रन र रविन जोशी ८ रनमा आउट हुँदा प्रदेश ३ सुरुवातमै संकटमा परेको थियो। कप्तान पारस खड्का १९ रनमा आउट भए भने ज्ञानेन्द्र मल्लले २६ रनको योगदान दिए। अदिल खान १५ रनमा पेभेलियन फर्कदा जितेन्द्रसिंह ठकुरीले खाता खोल्न सकेनन्। सोनु तामाङले २ रन जोड्दा सोनु देवकोटा शून्यमा आउट भए। नन्दन यादवले नटआउट १८ रन बटुले।
बलिङमा आर्मीका साहब अलामले ३ विकेट लिए। करण केसीले २ विकेट लिए भने सुसन भारी, रोहितकुमार पौडेल र कुशल मल्लको नाममा १–१ विकेट रह्यो।
अब उपाधिका लागि आर्मीले एपिएफ र नेपाल पुलिस क्लबको विजेतासँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।