धुले– महाराष्ट्रको धुले जिल्लास्थित धोंडगीपाडा भन्ने गाउँमा एक बलात्कारपीडित नाबालिगलाई गाउँको पञ्चायतले परिवारसहित गाउँनिकाला गरेको छ।
पीडितको परिवारले पञ्चायतका सदस्य रहेका आफन्तबाट बालिका बलात्कृत भएको आरोप लगाएका थिए। तर पञ्चायतले कारबाही गर्नुको सट्टा गाउँनिकाला गरी ११ हजार रुपैँया जरिवाना समेत तिराएको छ।
पञ्चायतको फैसला अनुसार बालिकालाई चक्की खुवाएर गर्भपतन गराउने भनिएको थियो तर त्यो निर्णयप्रति परिवारले आपत्ति जनाएको थियो।
समाचारअनुसार पीडित परिवारले केस दर्ता गराएपछि पञ्चायतले ११ हजार रुपैया जरिवाना गरेको छ।
ती बालिकाको आमाबुवा मजदुरीका लागि गुजरात गएका थिए फर्किँदा उनीहरुले छोरी ८ महिनाको गर्भवती भर्एको थाहा पाएका थिए।
परिवारले पञ्चायतकै एक सदस्यको आफन्तले आफ्नो १५ वर्षीया बालिकाको बलात्कार गरेको आरोप लगाएका छन्।
पीडितका पिता भन्छन्, पहिला पनि पुलिसले आलटाल गर्यो , इन्सपेक्टरले गाउँको कुरा हो उतै मिलाउनुस् भने, त्यसपछि सामाजिक कार्यकर्ता नवल ठाकरेले मुद्दा दर्ता गरिदिए उल्टो हामीलाई जरिवाना तिराइयो।
पीडित बालिकालाई अहिले धुले जिल्ला अस्पतालमा भर्ना गरिएको छ। उनले ३० मे मा बच्चीलाई जन्म दिएकी छिन्।
पीडितका पिता भन्छन् गाउँ जाँदा सबैले गाली गर्छन्, पानी समेत भर्न दिँदैनन्, मोबाइलमा बारम्बार धम्की आइरहेको, हामी एकदमै डराएका छौँ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।