थाइल्यान्डमा जारी एसिसी यू–१६ पूर्वी क्षेत्रीय प्रतियोगितामा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार मलेसियासँग फाइनल प्रवेशका लागि भिड्ने नेपालले समूह चरणमा खेलेका तीन वटै खेलमा जित हात पार्यो।
एसोसिएट टिमको उमेर समूहमा राम्रो प्रदर्शन गर्ने नेपालले थाइल्यान्डमा पनि अपेक्षाकृत प्रदर्शन गरिरहेको छ। आठ टिमको सहभागिता रहेको प्रतियोगितामा नेपालका चार खेलाडीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। एसिसीको उत्कृष्ट खेलाडीको सूचीमा रहेका चार खेलाडीले समूह चरणमा प्रदर्शन यस्तो छ:
त्रितराज दास – ब्याट्सम्यान
मध्यक्रमका ब्याट्सम्यान त्रितराज दास समूह चरणमा सर्वाधिक रन प्रहार गर्ने खेलाडी हुन्। उनले तीन खेलमा कुल १ सय ३० रन प्रहार गरिसकेका छन्। दासले थाइल्यान्ड विरुद्धको पहिलो खेलमा ३९ रन बनाएका थिए। हङकङ विरुद्धको दोस्रो खेलमा २७ रन प्रहार गरेका उनले म्यानमार विरुद्धको खेलमा ६४ रन प्रहार गरे। उनले तीन खेलमा १४ चौका र ३ छक्का प्रहार गरेका छन्।
बढी रन प्रहार गर्ने खेलाडीको सूचीको दोस्रो स्थानमा पनि कप्तान रित गौतम छन्। म्यानमार विरुद्धको खेलमा नटआउट १ सय ६ रन प्रहार गरेका उनले समूह चरणमा १ सय २२ रन प्रहार गरे।
प्रतिश जिसी – अलराउन्डर
नेपालका प्रतिश जिसी समूह चरणमा उच्च स्ट्राइक रेट भएका खेलाडी हुन्। उनले १४४.२३ स्ट्राइक रेटमा रन प्रहार गरेका थिए। तीन खेलमा ७५ रन बनाएका जिसीले एक अर्धशतक बनाउँदा सामना गरेका ७२ प्रतिशत बल बाउन्ड्रीमा हानेका थिए। ५२ बलको सामना गर्दा उनले १२ चौका र १ छक्का प्रहार गरेका थिए। बढी स्ट्राइक रेट भएको दोस्रो स्थानमा मलेसियाका मोहमद साहिद छन्। उनको स्ट्राइक रेट ११९.०५ छ।

नारायण जोशी – बलर
नेपालका नारायण जोशी समूह चरणमा बढी विकेट लिने खेलाडी हुन्। उनले समूह चरणका तीन खेलमा १० विकेट लिए। म्यानमार विरुद्ध ४ विकेट लिएका नारायणले थाइल्यान्ड विरुद्ध ५ विकेट लिएका थिए। हङकङ विरुद्ध १ विकेट लिएका उनले तीन खेलमा १६ ओभर मात्र गरेका छन्। उनले ४४ रन खर्चिँदा २.७५ को इकोनोमीमा बलिङ गरेका छन्। बढी विकेट लिने खेलाडीको दोस्रो स्थानमा सिंगापुरका आर्यन बेरी र मोहम्मद अफिक छन्। दुवैले समान ७–७ विकेट लिएका छन्।

अजयकुमार लोनिया – बलर
नेपालका बलर अजयकुमार लोनिया प्रतियोगिताको किफायती बलरको सूचीमा पहिलो स्थानमा छन्। उनले तीन खेलमा ११ ओभर बलिङ गर्दा १ को इकोनोमीमा बलिङ गरेका छन्। २ विकेट लिएका उनले अहिलेसम्म ११ रन मात्र दिएका छन्। ११ ओभरमध्ये उनले ६ ओभर त मेडन नै फ्याँकिसकेका छन्। उनले २ खेलमा मात्र बलिङ गरेका छन्। किफायती बलरको दोस्रो स्थानमा सिंगापुरका प्रणय राजेश छन्। उनले १.५ को इकोनोमीमा बलिङ गरेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।