काठमाडौं– सर्वोच्च अदालतले उच्च अदालतमा ८० न्यायाधीशको नियुक्ति सम्बन्धी विवादको सुनुवाइ हेर्दाहेर्दैमा पुस ६ गतेलाई तोकेको छ।
न्यायाधीश ओमप्रकाश मिश्र, बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको पूर्ण इजलासमा सुनुवाइका लागि समय नभ्याएकाले हेर्दाहेर्दैमा राखिएको सर्वोच्च अदालतका सहप्रवक्ता नागेन्द्र कालाखेतीले जानकारी दिए।
बिहीबार निवेदक र विपक्षीका कानुन व्यवसायीले बहस गरेका थिए। निवेदक र सरकारी वकिलको जवाफी बहस बाँकी रहेकाले हेर्दाहेर्दैमा राखेको हो।
गत वर्ष पुस २९ मा उच्च अदालतमा ८० न्यायाधीशको नियुक्ति गर्दा प्रक्रिया नपुर्याई दलगत स्वार्थका आधारमा गरिएको भन्दै सरकारी वकिल कार्यालयका नायव महान्यायाधिवक्ता दुर्गाबन्धु पोखरेल, अधिवक्ता डिलहरि शर्मा, प्रकाश काफ्ले, सुरेन्द्रप्रसाद यादव र तोयानाथ ढुंगानाले रिट निवेदन दायर गरेका थिए।
न्याय परिषद्का दुई सदस्य वैद्यनाथ उपाध्याय र रामप्रसाद सिटौलाको अनुपस्थितिमै न्यायाधीशका लागि नाम सिफारिस भएको थियो। परिषद् बैठकमा तत्कालीन परिषद् अध्यक्ष प्रधानन्यायाधीश सुशीला कार्की, कानुन मन्त्री अजयशंकर नायक र परिषद् सदस्य पदमप्रसाद वैदिक मात्र उपस्थित भएको हस्ताक्षर थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।