काठमाडौं– बुधबार राति दरबारमार्गको क्लब डेजा भू डिस्कोमा भएको तोडफोड घटनाको अनुसन्धानका लागि प्रहरीले क्रिकेटर पृथु बाँस्कोटासहित ८ जनालाई पक्राउ गरेको छ। डिजे मार्समेलोलाई ल्याउने भन्दै टिकट बेचेर उनलाई नल्याएको विवादमा क्लबमा तोडफोड भएको थियो।
क्रिकेटर बाँस्कोटा सो क्लबका लगानीकर्तामध्ये एक भएकाले उनलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी दिवेश लोहनीले बताए। नेपाली यू–१९ टिमका पूर्व कप्तान बाँस्कोटाले सिनियर टिमबाट समेत केही वर्ष खेलेका थिए। घरेलु क्रिकेट खेलिरहेका उनी एभरेस्ट प्रिमियर लिग (इपिएल) टिम चितवन टाइगर्सका कप्तान हुन्। इपिएल पुसको पहिलो सातादेखि काठमाडौंमा सुरु हुँदैछ।
पक्राउ पर्ने अन्यमा जयन श्रेष्ठ, मयंक खड्का, विशाल डाँगी, मिलन श्रेष्ठ छ्न्। त्यस्तै, कार्यक्रम आयोजक रितेश मारवाडी र राजेश महर्जन पनि पक्राउ परेका छन्। क्लबका क्याप्टेन आकाश न्यौपानेलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई ठगी मुद्दा चलाइने एसएसपी लोहनीले बताए।
‘१५ सय मानिस अट्ने क्लबमा ६ हजारको टिकट बेचिएको रहेछ,’ एसएसपी लोहनीले भने, ‘एकातर्फ शान्ति सुरक्षामा असर पुर्याउने काम भयो, अर्कोतर्फ टिकट काट्नेहरुलाई ठग्ने काम भएको छ।’
अमेरिकन डिजे मार्समेलो ल्याउने भन्दै २५ सय र ३५ सय दरका ६ हजारभन्दा धेरै टिकट बेचिएको थियो। जसअनुसार करिब एक करोड ८० लाख ठगी गरिएको प्रहरीले जनाएको छ। क्लबमा पुगेकाहरुले १ बजेसम्म पनि डिजे मार्समेलोलाई कुर्दा नआएपछि तोडफोड सुरु गरेका थिए। क्लबमा करिब एक करोड मूल्य बराबरको क्षति भएको छ। मार्समेलोले भने आफू बिरामी भएकाले आउन नपाएको सामाजिक सञ्जाल मार्फत जानकारी गराउँदै माफी मागेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।