काठमाडौं– एसिसी यु–१६ पूर्व क्षेत्रीय प्रतियोगितामा नेपालले लगातार तेस्रो जित दर्ता गराएको छ। नेपालले बिहीबार थाइल्यान्डमा भएको तेस्रो खेलमा म्यानमारलाई ३ सय ३७ रनले पराजित गरेको हो। लगातार तेस्रो जितसँगै नेपाल समूह 'ए' को विजेताको रुपमा अन्तिम ४ मा प्रवेश गरेको छ।
नेपालले दिएको ३ सय ५१ रनको लक्ष्य पछ्याएको म्यानमार ११.३ ओभर पिचमा टिक्दै १३ रनमै अलआउट भयो। म्यानमारका लागि हेन आङले सबैभन्दा बढी ३ रनको योगदान गरे। म्यानमारको इनिङ ध्वस्त पार्न नारायण जोशी र मेखबहादुर सेन थापाले ४–४ विकेट लिए। दुवैले ४–४ ओभर बलिङ गरे। नारायणले १ रन तथा मेखले ४ रन खर्चिए। विशाल केसीले १ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभरमा ६ विकेट गुमाएर ३ सय ५० रनको विशाल योगफल तयार गर्यो। नेपालका लागि रित गौतमले शतक प्रहार गरे। उनले १ सय ६ रन बनाउने क्रममा ७८ बल खेलेर १२ चौका प्रहार गरे। तीर्थराज दासले ६४ रन तथा प्रतिश जिसीले नटआउट ६३ रनको योगदान गरे। तीर्थले २९ बलमा ७ चौका र ३ छक्का प्रहार गरे। प्रतिशले ३१ बलमा १० चौका र १ छक्का हिर्काए।
यसअघि नेपालले पहिलो खेलमा थाइल्यान्डलाई १ सय ३३ तथा दोस्रो खेलमा हङकङलाई ४ विकेटले हराएको थियो। अब नेपालले सेमिफाइनलमा शनिबार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। अर्को सेमिफाइनलमा सिंगापुर र हङकङबीच प्रतिस्पर्धा हुनेछ।
नेपालको ब्याटिङ स्कोरकार्ड

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।